
काठमाडौँ ,२२ माघ । विश्व क्यान्सर दिवसको अवसरमा, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क ‘एचपीभी खोप’ प्रदान गर्न सुरु गरेको छ। यो खोप अभियान आजदेखि फागुन ६ गतेसम्म देशभरि सञ्चालन गरिनेछ। मन्त्रालयले १६ लाख ८८ हजार ७६८ किशोरीलाई खोप दिनको लागि लक्ष्य तय गरेको छ। खोप अभियानमा कक्षा ६ देखि १० सम्मका विद्यालयमा अध्ययन गर्ने छात्रा र १० देखि १४ वर्ष उमेरका विद्यालय बाहिर रहेका किशोरीलाई समावेश गरिनेछ।
नेपालमा महिलामा हुने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर प्रमुख स्थानमा रहेको छ। यस रोगको जोखिमबाट बच्नको लागि स्वास्थ्य मन्त्रालयले मुलुकभर एचपीभी खोप अभियान सञ्चालन गर्न लागेको हो। खोप अभियानको लक्ष्यमा लगभग १७ लाख किशोरीलाई खोप दिइने छ।
अभियानमा देशभरका १८ हजार ९ सय विद्यालयका खोप केन्द्र र ८ हजार २ सय अन्य खोप केन्द्र रहनेछन्। यस अभियानमा २७ हजार ८० स्वास्थ्यकर्मी, ५४ हजार १६० स्वयंसेवक, र १५ हजार ६७४ सुपरिवेक्षकहरू संलग्न हुनेछन्।
पाठेघरको मुखको क्यान्सरको उपचार शुरुकै अवस्थामा गरिएमा यसबाट बच्न सकिन्छ। स्वास्थ्य मन्त्रालयका अनुसार हरेक वर्ष एक हजार ३१३ महिलाको मृत्यु यो क्यान्सरबाट हुने र औसतमा दैनिक चार महिलाको मृत्यु हुने तथ्यांक छ।
एचपीभी खोप ९० देखि ९५ प्रतिशतसम्म सुरक्षा प्रदान गर्छ, जसले यस क्यान्सरको जोखिमलाई निकै कम गर्न मद्दत गर्दछ। मन्त्रालयले सबैलाई खोप लगाउन प्रोत्साहित गरेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे