
गण्डकी। पोखरा–मुग्लिन सडक आयोजनाको पश्चिम (पोखरा–जामुने) खण्डमा हालसम्म २८.५२ किमि सडक कालोपत्र सम्पन्न भएको छ। आयोजनाका इन्जिनियर सौजन्य नेपालका अनुसार १०.३६ किमि सडक कालोपत्र गर्न बाँकी छ।
उनका अनुसार तनहुँमा २.७४ किमि र कास्कीमा ७.६२ किमि सडकको कालोपत्र कार्य सम्पन्न हुन बाँकी छ। “तनहुँमा २०.८ किमि र कास्कीमा १८.०८ किमि सडक कालोपत्र भइसकेको छ,” उनले जानकारी दिए। तनहुँमा चार लेन दुबैतर्फ १०.०८ किमि, कास्कीमा ४.३९ किमि, तनहुँमा दुई लेन (एकतर्फी) ७.९८ किमि, तथा कास्कीमा ६.०७ किमि सडक कालोपत्र सम्पन्न भएको छ।
चिनियाँ निर्माण कम्पनी यनहुई काइयुयान हाइवे एण्ड ब्रिज कन्सट्रक्सनले विसं २०७८ देखि पश्चिम खण्डको निर्माण कार्य सुरु गरेको थियो। आयोजनाको भौतिक प्रगति हालसम्म ४२ प्रतिशत पुगेको छ भने जनवरी महिनाको प्रगति विवरण अपडेट हुन बाँकी रहेको इन्जिनियर नेपालले बताए।
पोखराको चाउथे, अन्तर्राष्ट्रिय विमानस्थल, अमरसिंहचोक, बुढीबजारलगायत क्षेत्रमा कालोपत्रको कार्य तीव्र गतिमा भइरहेको छ। तालचोकदेखि गगनगौँडासम्मको खण्डमा पनि कामले गति लिएको छ। पश्चिमतर्फ थर्पु, तुरतुरे, तल्लो गगनगौँडा लगायतका स्थानहरूमा कालोपत्र कार्य सम्पन्न भइसकेको छ।
जामुनेदेखि सेती पुलसम्मको सडक आधा भाग छ लेन र आधा भाग चार लेनको निर्माण गरिने योजना रहेको छ। वियजपुर खोला र सेती नदीमा पुल निर्माण कार्य पनि सँगसँगै भइरहेको इन्जिनियर नेपालले जानकारी दिए। “सडक विस्तारसँगै पुल, कल्भर्ट, नाली जस्ता पूर्वाधार निर्माण कार्य तीव्र रूपमा अगाडि बढिरहेको छ,” उनले भने।
विगतमा कोभिड–१९ महामारीका कारण निर्माण कार्य केही ढिलाइ भएपनि हाल कामले तीव्रता लिएको छ। पश्चिम खण्डमा पर्ने १२ वटा पुलमध्ये ९ वटा अन्तिम चरणमा पुगेको छ। चिनियाँ निर्माण कम्पनी यनहुई काइयुयान हाइवे एण्ड ब्रिज कन्सट्रक्सनले सात अर्ब ४० करोड ४६ लाखको ठेक्कामा पश्चिम खण्ड निर्माणको जिम्मेवारी लिएको हो।
यसैबीच, ८१ किमि लामो पोखरा–मुग्लिन सडकको स्तरोन्नति एसियाली विकास बैंकको ऋण सहयोगमा भइरहेको छ। ४१.४५ किमि पूर्वी खण्ड (जामुने–मुग्लिन) मा २०७८ वैशाखदेखि चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले निर्माण कार्य सुरु गरेको थियो।
दमौली र डुम्रे बजारमा छ लेन, बाँकी क्षेत्रमा चार लेनको सडक निर्माण हुने आयोजना कार्यालयले जनाएको छ। पूर्वी खण्डमा कालोपत्र कार्य अन्तिम चरणमा पुगेको छ। चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले छ अर्ब २१ करोड ३१ लाख रुपैयाँको ठेक्कामा उक्त खण्डको निर्माण जिम्मा लिएको हो।
पृथ्वी राजमार्ग अन्तर्गत पोखरा–मुग्लिन सडकलाई चार लेनमा स्तरोन्नति गर्ने कार्य तीव्र गतिमा भइरहेको आयोजनाले जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे