
काठमाडौं । सोनाम ल्होसारको अवसरमा बागमती प्रदेश प्रमुख, कोशी प्रदेशका मुख्यमन्त्री तथा पूर्वप्रधानमन्त्रीहरूले छुट्टाछुट्टै शुभकामना सन्देश जारी गरेका छन्। उनीहरूले तामाङ समुदायलाई शुभकामना दिँदै आपसी सद्भाव, मेलमिलाप र सामाजिक एकताको महत्वलाई उजागर गरेका छन्।
बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले सोनाम ल्होसारलगायतका चाडपर्वहरू सांस्कृतिक सम्पन्नताको परिचायक रहेको उल्लेख गर्दै यस्ता पर्वहरूले समाजमा मेलमिलाप, शान्ति र सौहार्द अभिवृद्धि गर्न योगदान पुर्याउने धारणा व्यक्त गरेका छन्।
त्यस्तै, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सबै धर्म, संस्कृति तथा समुदायबीचको सहकार्य, एकता र आपसी सद्भावले मात्र समृद्धि सम्भव हुने बताएका छन्। उनले सोनाम ल्होसार तथा मञ्जुश्री संवत् २८६१ को अवसरमा शुभकामना व्यक्त गर्दै प्रदेश सरकारले सबै समुदायको पहिचान स्थापित गर्न निरन्तर प्रयत्नशील रहेको उल्लेख गरेका छन्। विविधतायुक्त कोशी प्रदेशमा सबै समुदायले एकअर्काको सहअस्तित्व स्वीकार गरी सुखी र समृद्ध प्रदेश निर्माणमा योगदान दिइरहेको उनको भनाइ छ।
पूर्वप्रधानमन्त्री झलनाथ खनालले मुलुकमा सबै समुदायले मौलिक संस्कृति, परम्परा तथा चाडपर्वको संरक्षण गर्नुपर्नेमा जोड दिएका छन्। उनले सोनाम ल्होसारले बन्धुत्व, आपसी प्रेम र हार्दिकता प्रवर्द्धन गर्ने विश्वास व्यक्त गरेका छन्।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपाली समाजको बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विविधतालाई उजागर गर्दै सोनाम ल्होसारजस्ता पर्वहरूले आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वलाई प्रवर्द्धन गर्ने बताएका छन्। उनले यस्ता पर्वहरू राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन्।
तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन नयाँ वर्षका रूपमा सोनाम ल्होसार पर्व मनाउने परम्परा रहिआएको छ। यस अवसरमा कुल तथा प्रकृति पूजा गर्ने प्रचलन रहेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे