
काठमाडौं, ६ डिसेम्बर – साहित्यकार ध्रुव खनालको सामाजिक उपन्यास ‘श्रेय’ सार्वजनिक भएको छ। यस उपन्यासले काठमाडौं उपत्यकाको केही पुस्ता अघिको परिवेशमा आधारित काँठ क्षेत्रको संघर्ष र जीवनका कथाहरूलाई सजीव रूपमा प्रस्तुत गरेको छ।
उपन्यासकार खनालले आफ्नो बाल्यकालका अनौठा र रहस्यमय कहानीहरूलाई विभिन्न पात्रहरूको कथा र उप-कथाका माध्यमबाट प्रस्तुत गरेका छन्। ‘श्रेय’ उपन्यासमा उखाने काका, हर्षबहादुर मनकली दिदी, ज्योतिष बा, दिलमाया, द्वार्नी आमा, अछामे कान्छो लगायतका पात्रहरूको संवाद र चरित्र चित्रणमार्फत् काँठ क्षेत्रको तत्कालीन अवस्था र जनजीवनलाई यथार्थपरक रूपमा चित्रित गरिएको छ।
उपन्यासमा त्यतिबेलाको काँठ क्षेत्रको घाँस दाउरा गर्ने दुःख, रातको अन्धकारमा घट्ट जानुपर्ने बाध्यता, र खेतीपातीका क्रममा भूत-प्रेतका कथाहरूको उपस्थितिलाई जीवित रूपमा प्रस्तुत गरिएको छ। ३६४ पृष्ठ लामो यो उपन्यास काँठका पुराना जीवनशैली र परम्पराहरूका बारेमा नयाँ पुस्ताका लागि महत्वपूर्ण जानकारी दिनको लागि तयार गरिएको हो।
उपन्यासकार खनालका अनुसार, “हाम्रा पुर्खाहरूको संघर्ष र जीवनकथाबारे नयाँ पुस्ता अनविज्ञ नहोस् भन्ने उद्देश्यले मैले यो उपन्यास लेखेको हुँ। यसलाई विद्यालयका पाठ्यक्रमको लागि उपयुक्त सामग्रीको रूपमा पनि प्रयोग गर्न सकिन्छ।”
इटर्नल पब्लिकेशन प्रा.लि. द्वारा प्रकाशित यस पुस्तकको मूल्य ५५० रुपैयाँ निर्धारण गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे