
काठमाडौं, १४ नवम्बर – सरकारले किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सरबाट जोगाउनका लागि आगामी माघ महिनाको २३ गतेदेखि १५ दिनको लागि देशव्यापी खोप अभियान सुरु गर्ने निर्णय गरेको छ। क्यान्सर दिवसको अवसरमा सञ्चालन हुने यस अभियानअन्तर्गत ७ देखि १४ वर्ष उमेरका १६ लाख ८८ हजार ९०० किशोरीलाई निःशुल्क “एचपीभी” खोप प्रदान गरिने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले खोप अभियानको जानकारी दिँदै भने, “पाठेघरको मुखको क्यान्सरका कारण हरेक दिन चार जना नेपाली नागरिकको ज्यान गइरहेको अवस्थामा, यसविरुद्ध प्रभावकारी कदम चाल्नका लागि ‘ह्युमन पापिलोमा भाइरस’ (एचपीभी) खोप अभियान सुरु गरिने छ।”
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले कार्यभार सम्हालेका दिन नै आफ्नो प्राथमिकतामा किशोरीहरूको पाठेघरको मुखको क्यान्सर नियन्त्रण गर्ने योजना समावेश गरेको उल्लेख गरेका थिए। उनले आगामी वर्षदेखि यस खोपलाई नियमित खोप अभियानमा समावेश गर्ने निर्णय गरिएको जानकारी पनि दिएका छन्।
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. अरुण शाहीले पाठेघरको मुखको क्यान्सरको जोखिम बढाउने मुख्य कारण ह्युमन पापिलोमा भाइरस (एचपीभी) संक्रमण भएको बताएका छन्। उनका अनुसार, यो भाइरसको संक्रमण कटी उमेरमा विवाह, बच्चा जन्माउने, धेरै जनासँग यौन सम्बन्ध राख्ने, धूमपान र मद्यपान जस्ता कारणले बढी हुन्छ, जसको जोखिमबाट बच्नको लागि खोप अनिवार्य रहेको छ।
सन् २०२२ मा नेपालमा क्यान्सरका २२ हजार नयाँ बिरामी देखा परेका थिए, जसमा १४ हजारभन्दा बढीले ज्यान गुमाएका थिए। प्रत्येक वर्ष लगभग १,५०० बालबालिकामा क्यान्सरको समस्या देखिन्छ। मन्त्री पौडेलले क्यान्सरको उपचारमा सरकारी दायित्व र बालबालिकालाई आर्थिक अभावका कारण मृत्युको मुखमा नपर्न दिने राज्यको जिम्मेवारी रहेको उल्लेख गर्दै, यस अभियानलाई सफल बनाउन राज्यले हरसम्भव प्रयास गर्ने विश्वास व्यक्त गरेका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे