
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति र पूर्वउपप्रधानमन्त्री रवि लामिछानेलाई सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतमा पेस गरिएको छ। लामिछाने र उनका सहकर्मी छवि जोशीलाई पोखराको सूर्यदर्शन सहकारीको ६५ करोड रुपैयाँ अपचलनको आरोपमा पक्राउ गरिएको हो।
कात्तिक २ गते काठमाडौंबाट पक्राउ गरिएका लामिछानेलाई सोही रात पोखरा ल्याएर ६ दिनको अनुसन्धान म्याद दिइएको थियो। कास्की जिल्ला अदालतले त्यसपछि म्याद थप गर्दै कात्तिक २० गतेसम्म अनुसन्धानको अवधि बढाएको थियो। तिहारको बिदा भएका कारण अदालतले उक्त म्यादमा बिदाको समय पनि गणना गर्दै १० दिनको समय तोकेको थियो। शनिबार बिदा भएकाले आज (आइतबार) उनलाई अदालतमा पेस गरिएको हो।
लामिछानेलाई तेस्रो पटक म्याद थपको लागि अदालतमा पेस गर्ने तयारी प्रहरीले गरेको छ। उनी यतिबेला कास्की जिल्ला प्रहरी हिरासतमा छन्।
सूर्यदर्शन सहकारीको रकम गोर्खा मिडियामार्फत अपचलन गरेको आरोपमा लामिछाने र जोशीसहितलाई सहकारी ठगी र संगठित अपराधको मुद्दा अन्तर्गत अनुसन्धान भइरहेको छ। अदालतले यस विषयमा सम्पत्ति शुद्धीकरणको अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ।
राजनीतिक प्रतिशोधको आरोप लगाउँदै रास्वपा पार्टीका कार्यकर्ताले लामिछानेलाई पक्राउ गरिएकाे विषयमा विरोध प्रदर्शन गरेका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे