
काठमाडौँ ।दुई महिनाको अवधिमा, महानगरपालिकाले ११४ वटा मन्दिर, १११ वटा हिटी, १० वटा कुवा र ६ वटा पोखरीको सफाइ सम्पन्न गरेको छ। साथै, ४ वटा हिटीको पुनरुत्थान कार्य पनि गरिएको छ। यो सबै कार्य ‘सम्पदा मर्मत तथा संरक्षण’ कार्यक्रम अन्तर्गत भइरहेको छ।
सफाइका दौरान मन्दिर क्षेत्रका प्राङ्गण, बत्ती बाल्ने ठाउँ, घण्टी, पर्खाल, भित्ता, परिक्रमा मार्ग, बार तथा अन्य फोहर भएको स्थानको सफाइ गरिएको छ। दाची अप्पामा सिलिकन र ड्युरासिल रङ लगाइएका छन्। मन्दिरमा पातपतिङ्गर, धुलो, पूजाजन्य सामग्री, दियो र पालाको खिया, तेलको दाग र रङ अविरका दागहरूको सफाइका लागि सरफ, पिताम्बर, झाडु, कुचो र तार ब्रसको प्रयोग गरिएको छ।
सुरक्षाका लागि १० जना सुपरभाइजर र १०० जना सरसफाइकर्मीले दैनिक ८ घण्टाको काम गर्दै आएका छन्। सुपरभाइजरहरूले वडा कार्यालयसँग समन्वय गर्दै सफाइ गराउने जिम्मेवारी सम्हालिरहेका छन्। सफाइ कार्यमा ४० जना अपाङ्गता भएका व्यक्तिहरु र ६० जना सिसडोलबासी समावेश छन्।
इञ्जिनियर र पेन्टरको टोलीले मन्दिर रङरोगनको कामको सुपरीवेक्षण गर्दै छन्। यस कार्यमा समावेश सम्पूर्ण जनशक्ति श्रम वैङ्कबाट लिइएको हो।
गत आर्थिक वर्षभरि ३३३ वटा साना ठुला मन्दिरको सफाइ भएको थियो।
यसैगरी, हिटी, कुआँ र पोखरीको सफाइ पनि सञ्चालन गरिएको छ। २ महिनामा १११ वटा हिटी, १० वटा कुवा र ६ वटा पोखरीको सफाइ गरिएको छ। पुनरुत्थान र सौन्दर्यीकरणका लागि करिब ३२ लाख रुपैयाँ खर्च भएको छ।
आ. व. २०८०/८१ को असार मसान्तसम्ममा १२ वटा हिटी पुनःनिर्माणका लागि सम्झौता भइसकेको छ। यसमा गंगाहिटि, बाँहिटि, भैरव हिटि, र बाँकोट हिटिको काम समावेश गरिएको छ।
महानगरपालिकाले निकासा संरचना बनाउने योजना अघि बढाएको छ, र ऐतिहासिक लुहिटी (सुन्धारा)को पुनरुत्थानका लागि केन्द्र सरकारसँगको प्रक्रिया अगाडि बढाउनको लागि पहल गरिरहेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे