
काठमाडौँ, ७ साउन । साउनको पहिलो सोमबार आज पशुपतिनाथको मन्दिरलगायत देशभरका शिवालयमा भक्तजनको भीड लागेको छ ।
महिनामा साउन र बारमा सोमबार भगवान् शिवको बार भएकाले यस दिनमा शिवजीको पूजा आराधना एवम् दर्शन गर्नाले मनोकामना पूरा हुन्छ भन्ने धार्मिक विश्वासमा भक्तजनको भीड लागेको हो ।
साउने सोमबारका लागि आज बिहान ४ बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारै ढोका भक्तजनका लागि खुला गरिएको थियो । बिहान ३ बजेदेखि नै भक्तजनले पशुपतिनाथ मन्दिरमा पूजा, आराधना एवं दर्शन सुरु गरेका पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
अन्य विशेष पर्वमा जस्तै आज पनि पशुपतिनाथमा भक्तजनको प्रवेशका लागि चार स्थानबाट लाम लाग्ने व्यवस्था गरिएको छ ।
हरियो र रातो पहिरनमा सजिएका महिला भक्तजनले पशुपति क्षेत्र ढाकेका देखिन्छन् । विभिन्न धार्मिक समूहले साउने सोमबारका अवसरमा पशुपति क्षेत्रमा निःशुल्क भोजन, तथा पानी वितरण गरिरहेका छन् ।
आजको दिन काठमाडौँको पशुपतिसँगै भक्तपुरको डोलेश्वर र आशापुरेश्वर, ललितपुरको कुम्भेश्वर, पूर्वको महादेव भनेर चिनिने हलेसी, सुनसरीको पिण्डेश्वर, म्याग्दीको गलेश्वर, कपिलवस्तुको कुशेश्वर, पर्वतको गुप्तेश्वर, जनकपुरको कपिलेश्वर, जलेश्वरको सिरेश्वर र कलानेश्वर लगायतका शिवालयहरुमा पनि बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ ।
चितवन, नवलपरासी र तनहुँको संगमस्थल देवघाटधाममा पनि साउनको अन्तिम सोमबार पूजा गर्ने र बोलबम मेला भर्नेहरुको घुईंचो लागेको छ ।
साउनको सोमबार शिवलाई शुद्ध जल चढाएर खुसी बनाउन सकिन्छ भन्ने शास्त्रीय मान्यता छ ।
साउनको सोमबार व्रत बसी भगवान् शिवको पूजा, आराधना गरेमा विवाहित महिलाले अटल सौभाग्य प्राप्त गर्ने र अविवाहित महिलाले सुयोग्य बर पाउने धार्मिक विश्वास छ । यही विश्वासमा देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको भीड लागेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे