
काठमाडौं, १९ कार्तिक । नेपाली कांग्रेसको महासमिति बैठक दुई साता पर धकेलिएको छ । यसअघि मंसिर १३–१५ मा गर्ने भनिएको महासमिति बैठक कार्यक्रम गर्न हल नपाएपछि दुई साता पर धकेलिएको हो । आइतबार बिहान बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले महासमिति बैठक मंसिर २९ देखि पुस २ गतेसम्म गर्ने निर्णय गरेको हो ।
यसअघि काठमाडौंमा गर्ने भनिएको सो बैठक अब ललितपुरको गोदावरीस्थित अन्तर्राष्ट्रिय सभाहलमा हुनेछ । प्रचार विभाग प्रमुख मीन विश्वकर्माले प्राविधिक कारणवश महासमिति बैठक दुई साता पर धकेलिएको बताए ।
महासमिति बैठकमा कांग्रेसका महासमिति सदस्यहरू सहभागी हुन्छन् । देशभरि १६५ निर्वाचन क्षेत्रबाट ११/११ जना र केन्द्रीय कार्यसमितिका सदस्यहरूसहित बैठकमा करिब २५ सय जनाको सहभागिता हुने कांग्रेसले जनाएको छ ।
यसअघि तोकिएको मितिमा कांग्रेसले प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा कार्यक्रम गर्ने तयारी थियो । तर त्यहाँ खाली नभएपछि कांग्रेसले कार्यक्रमको मिति नै सारेको हो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे