
काठमाडौँ, १६ भाद्र । प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘जनतासँग माओवादी विशेष रूपान्तरण’ तीन महिने अभियानको शुभारम्भ गरेका छन् ।
प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज (शनिबार) बिहान पार्टी मुख्यालय पेरिसडाँडाबाट अभियानको भर्चुअल उद्घाटन गरेका हुन् । आज उद्घाटन भएका कार्यक्रमको रेकर्ड दिउँसो १ बजे देशैभरीका वडाहरूमा सुनाउने गरी ब्यवस्थासमेत मिलाइएको जनाइएको छ ।
अध्यक्ष प्रचण्डले माओवादी इतिहासकै चुनौतीपूर्ण अवस्थामा रहेको बताउँदै विशेष अभियानबाट पार्टी एकताबद्ध भई पार्टी फेरि बलियो बन्ने दाबी गरे । यो अभियानले संगठन निर्माण, विचारको विकास गर्नेमा अभियान महत्त्वपूर्ण हुने उनले विश्वाससमेत व्यक्त गरे ।
सरकारले नक्कली शरणार्थी प्रकरण, ललिता निवास प्रकरण, सुन काण्डमा निष्पक्ष पूर्वक गरिएको कामले सरकारको प्रशंसा भएको प्रचण्डको जिकिर थियो । ‘माओवादी एकताबद्ध भए फेरी बलियो शक्ति बन्छ । इतिहासमै पार्टी कठिन अवस्थामा उभिएकाले विशेष अभियानले विचार र संगठन निर्माणमा महत्त्वपूर्ण हुने विश्वास लिएको छ’, उनले भने, ‘नक्कली शरणार्थी, ललिता निवास प्रकरण, सुन काण्डमा सरकारले चालेको निष्पक्ष कारबाही गरिएकाले सबैतिर प्रशंसा भइरहेको छ ।’
उनले परिवर्तनलाई उल्टो गतिमा लैजाने चेष्टा भइरहेको भन्दै त्यसकाविरुद्ध सिंगो पार्टी एकताबद्ध हुन आग्रह गरे । सरकारले गरेका राम्रो कमबाट अत्तालिएकाले भ्रम छर्ने काम गरिरहेको उनको भनाइ छ । आजदेखि सुरु भएको उक्त अभियानका लागि माओवादीले पार्टी पदाधिकारीहरूलाइ बिभिन्न जिल्लामा खटाइएको छ ।
जसमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड काठमाडौं चन्द्रागिरी–२ स्थित घट्टेडाँडा पार्क, वरिष्ठ उपाध्यक्ष नारायकाजी श्रेष्ठ ललितपुर महानगरपालिका २८ हरिसिद्धी, उपाध्यक्ष कृष्णबहादुर महरा सुनछहरी गाउँपालिका रोल्पा, उपाध्यक्ष अग्नि सापकोटा लिसंखुपाखर गाउँपालिका ३, उपाध्यक्ष पम्फा भुसाल ललितपुर महानगरपालिका २२, महासचिव देव गुरुङ सुन्दरबजार नगरपालिका–८ लमजुङ, उपमहासचिव गिरिराजमणि पोखरेल गोकर्णेश्वर नगरपालिका–४ काठमाडौं, उपमहासचिव हरिबोल गजुरेल सिन्धुली, जनार्दन शर्मा चन्द्रागिरी–२, शक्ति बस्नेत भेरी नगरपालिका जाजरकोट, मातृका यादव वीरेन्द्रनगर नगरपालिका–१ सुर्खेतमा खटिनेछन् ।
सचिव दिनानाथ शर्मा बाग्लुङ, डिलाराम आचार्य धनगढी उपमहानगरपालिका–१६, चक्रपाणि खनाल विराटनगर महानगरपालिका–१८, देवेन्द्र पौडेल पोखरा महानगरपालिका–२०, लीलामणि पोखरेल महोत्तरी, गणेश साहलाई काठमाडौं महानगरपालिका–१० मा खटाइएको उनले बताए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे