
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीच युद्धविराम सम्झौता भएको घोषणा गरेका छन्। उनका अनुसार यस सम्झौतापछि दुवै देशबीचको तनाव तत्काल कम हुनेछ र विश्व व्यापारका लागि महत्वपूर्ण होर्मुज जलडमरूमध्य फेरि खुला हुनेछ। यस मार्गबाट अब जहाजहरूले अतिरिक्त शुल्क वा अवरोधबिना तेल तथा अन्य सामान ढुवानी गर्न सक्नेछन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्झौताअनुसार विश्व व्यापारका लागि महत्त्वपूर्ण समुद्री मार्ग होर्मुज जलडमरूमध्य पुनः सञ्चालनमा ल्याइने बताएका छन् । त्यसपछि विश्व बजारमा तेल आपूर्तिसम्बन्धी चिन्ता कम हुँदा मूल्य घट्न पुगेको हो ।
इरानका उपविदेशमन्त्री काजेम घरिबादीले पनि सम्झौताको पुष्टि गरेका छन्। ट्रम्पले यो सम्झौताले मध्यपूर्व क्षेत्रमा शान्ति र सुरक्षा कायम गर्न मद्दत गर्ने दाबी गरेका छन्। उनले भविष्यमा इरानसँग अझ व्यापक शान्ति सम्झौता हुन सक्ने संकेत पनि दिएका छन्।
ट्रम्पले सामाजिक सञ्जालमार्फत क्षेत्रीय समुद्री मार्गबाट तेलको निर्बाध ढुवानी पुनः सुरु हुने बताएका छन्। अमेरिका र इजरायलले गत फेब्रुअरी २८ देखि इरानमाथि हवाई आक्रमण सुरु गरेपछि होर्मुज जलडमरूमध्य प्रभावकारी रूपमा बन्द रहेको थियो । विश्वको करिब २० प्रतिशत कच्चा तेल र तरलीकृत प्राकृतिक ग्यासको आपूर्ति यही समुद्री मार्ग हुँदै हुने भएकाले यसको सञ्चालनले विश्व ऊर्जा बजारमा ठूलो प्रभाव पार्ने गरेको छ ।
यद्यपि, ट्रम्पले इरानले सम्झौता पालना नगरे अमेरिकाले फेरि सैन्य कारबाही गर्न सक्ने चेतावनी समेत दिएका छन्। होर्मुज मार्ग खुल्दा विश्व बजारमा तेल आपूर्ति सहज हुने अपेक्षा गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे