
एजेन्सी। तमिलनाडु विजय कषगमका संस्थापक सी. जोसेफ विजयले तमिलनाडुको मुख्यमन्त्रीका रूपमा शपथ ग्रहण गरेका छन् । चेन्नईस्थित जवाहरलाल नेहरू रङ्गशालामा आयोजित विशेष समारोहमा राज्यपाल राजेन्द्र विश्वनाथ आर्लेकरले विजयलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
मुख्यमन्त्री विजयसँगै नौ जना मन्त्रीले पनि शपथ ग्रहण गरेका छन् । मन्त्री पदको शपथ लिनेहरूमा केजी अरुणराज, आधव अर्जुना, एन आनन्द, सेल्वी एस कीर्तना तथा डा. टीके प्रभु लगायत रहेका छन् ।
शपथ ग्रहण समारोहमा भारतीय राष्ट्रिय काङ्ग्रेसका नेता राहुल गान्धीसहित तमिल चलचित्र क्षेत्रका विभिन्न चर्चित व्यक्तित्वको उपस्थिति रहेको थियो ।
तमिलनाडु विजय कषगमले काङ्ग्रेस, भारतीय कम्युनिष्ट पार्टी, भारतीय कम्युनिष्ट पार्टी मार्क्सवादी, विदुथलाई चिरुथैगल काची तथा भारतीय युनियन मुस्लिम लिगको समर्थनमा २३४ सदस्यीय विधानसभामा १२० निर्वाचित सदस्यको समर्थन प्राप्त गरेको जनाएको छ ।
विजय तमिलनाडुमा सन् १९६७ पछि द्रविड मुनेत्र कषगम वा अखिल भारतीय अन्ना द्रविड मुनेत्र कषगम बाहिरबाट मुख्यमन्त्री बन्ने पहिलो नेता बनेका छन् ।
राज्यपाल कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार मुख्यमन्त्री विजयलाई आगामी बुधबारभित्र प्रदेशसभाबाट विश्वासको मत लिन निर्देशन दिइएको छ ।
शपथ ग्रहणपछि विजयले सचिवालय पुगेर औपचारिक रूपमा कार्यभार सम्हालेका छन् । उनले कार्यभार ग्रहणसँगै प्रत्येक परिवारलाई २०० युनिट निःशुल्क विद्युत् उपलब्ध गराउने, महिला सुरक्षाका लागि विशेष संयन्त्र गठन गर्ने तथा लागुऔषध तस्करी नियन्त्रणका लागि छुट्टै इकाइ स्थापना गर्ने निर्णयसम्बन्धी फाइलमा हस्ताक्षर गरेका छन् ।
शपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री विजयले जनतालाई आफ्नो सरकारप्रति विश्वास राख्न आग्रह गरेका छन् । उनले पारदर्शी, सहज र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
नवनिर्वाचित प्रदेशसभा सदस्यहरूको शपथ ग्रहणका लागि प्रदेशसभा बैठक सोमबार बस्ने जनाइएको छ । शोलाभन्दन निर्वाचन क्षेत्रबाट निर्वाचित करुप्पैयालाई अस्थायी सभामुख नियुक्त गरिएको छ । उनले नवनिर्वाचित सदस्यलाई शपथ गराउने तथा स्थायी सभामुख चयन प्रक्रिया सञ्चालन गर्नेछन् ।
नयाँ सरकारले आगामी बुधबारभित्र प्रदेशसभामा बहुमत प्रमाणित गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे