
काठमाडौं। कम्पनी ऐन, २०२१ अन्तर्गत २०३८ सालमा स्थापना भएको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी स्वदेशी जडीबुटीको सङ्कलन, उत्पादन, प्रशोधन, उपयोग तथा निर्यातमार्फत कृषक र उत्पादकको आय वृद्धि गर्ने उद्देश्यका साथ सञ्चालनमा आएको हो। कम्पनीमा नेपाल सरकारको ८०.७३ प्रतिशत, वन पैदावार विकास समिति र नेपाल औषधि लिमिटेडको ६.७५ प्रतिशत, कृषि विकास बैंकको २.८९ प्रतिशत तथा अन्य शेयरधनीको ९.६३ प्रतिशत स्वामित्व रहे पनि हालसम्म सर्वसाधारणका लागि शेयर निष्कासन गरिएको छैन।
आर्थिक वर्ष २०८१/८२ को अन्त्यसम्म कम्पनीको कुल सम्पत्ति ५५ करोड ३ लाख ६९ हजार रुपैयाँ रहेको छ। आर्थिक वर्ष २०८१/८२ को कारोबारबाट ६ करोड ६३ लाख १७ हजार रुपैयाँ नोक्सानी भए पनि कम्पनीसँग हालसम्म १५ करोड ७८ लाख १ हजार रुपैयाँ सञ्चित नाफा रहेको उल्लेख गरिएको छ।
जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडले आफ्ना प्रमुख उत्पादनमध्ये एक ‘सन्चो बाम’को लोगो हालसम्म ट्रेडमार्कका रूपमा दर्ता नगर्दा बौद्धिक सम्पत्तिमाथिको कानुनी अधिकार सुरक्षित गर्न नसकेको सरकारी प्रतिवेदनले औंल्याएको छ।
प्रतिवेदनअनुसार कम्पनीले विभिन्न जडीबुटीजन्य उत्पादनको सूत्र तथा ‘सन्चो बाम’को लोगो आफ्नै बौद्धिक सम्पत्तिका रूपमा विकास गरे पनि त्यसलाई विधिसम्मत रूपमा ट्रेडमार्क दर्ता नगरेकाले कानुनी संरक्षण प्राप्त हुन सकेको छैन। यसको प्रत्यक्ष असर कम्पनीले लोगो प्रयोगबापत प्राप्त गर्न सक्ने रोयल्टी तथा अन्य व्यावसायिक लाभमा परेको सरकारी प्रतिवेदनको निष्कर्ष छ।
सरकारी प्रतिवेदनले यसअघि पनि कम्पनीलाई ‘सन्चो बाम’को लोगो दर्ता गरी बौद्धिक सम्पत्तिमाथि कानुनी अधिकार सुनिश्चित गर्न सुझाव दिएको थियो। तर, उक्त सुझाव कार्यान्वयन नभएको र यो आर्थिक वर्षसम्म पनि अवस्था यथावत् रहेको प्रतिवेदनमा उल्लेख छ।
प्रतिवेदनले कम्पनीलाई आफ्नो ब्रान्ड तथा बौद्धिक सम्पत्तिको संरक्षण सुनिश्चित गर्न यथाशीघ्र ट्रेडमार्क दर्ता प्रक्रिया पूरा गरी त्यसबाट प्राप्त हुन सक्ने आर्थिक लाभ सुरक्षित गर्न सुझाव दिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे