
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अब स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्न चाहने आफ्ना सदस्यका लागि नयाँ नियम लागू गर्ने निर्णय गरेको छ। अब पार्टीबाट टिकट पाउन चाहनेले ‘क्यान्डिडेट क्लब’ र ‘लिडरसिप एकेडेमी’ नामका दुई तालिम कार्यक्रम अनिवार्य रूपमा पास गर्नुपर्नेछ।
आइतबार वनस्थलीस्थित केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो। पार्टीका अनुसार यी कार्यक्रमले उम्मेदवारलाई नेतृत्व क्षमता, नीति बुझाइ र काम गर्ने तरिका सिकाउने उद्देश्य राख्छन्।
पार्टी प्रवक्ता मनिष झाले भने, “अब रास्वपाबाट चुनाव लड्न चाहने जो कोहीले यी दुई कार्यक्रम पूरा नगरी उम्मेदवार बन्न सक्दैन।” यसलाई पार्टीले योग्य र सक्षम उम्मेदवार छनोट गर्ने उपायका रूपमा लिएको छ।
यसअघि नै स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट गर्ने नयाँ मापदण्ड तयार गरिएको थियो। सो मस्यौदा प्रतिवेदन पार्टी सभापति रवि लामिछानेलाई हस्तान्तरण गरिएको जानकारी पनि बैठकमा दिइएको छ।
रास्वपाले यस कदममार्फत पार्टीभित्र अनुशासन र क्षमता विकासमा जोड दिँदै आगामी चुनावमा बलियो र सक्षम उम्मेदवार उठाउने लक्ष्य राखेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे