
काठमाडौँ, १४ बैशाख । सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले केपी ओलीले झुटलाई च्यालेन्ज गर्नेलाई गाली गर्ने गरेको बताएका छन् ।
नेपाली कांग्रेस काठमाडौं जिल्ला सम्पर्क समन्वय समितिले बुधबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा उनले आफूहरुको घोषणापत्रलाई ओलीले ‘पागलहरुको प्रलाप’ भनेको विषयमा प्रतिक्रिया जनाउँदै यस्तो बताएका हुन् ।
‘जसको मुखमा अंगार छ उसले ओकल्ने कालो नै हो,’ उनले भने, ‘केपी ओलीले ककसलाई पागल भन्नुहुन्छ रु केही पहिला सुशीला कार्की र गोविन्द केसीलाई पागल भन्नुभयो । अहिले हामीलाई । उहाँको झुटलाई च्यालेन्ज गर्नेलाई गाली गर्ने नै पागल भनेर हो उहाँले ।’
उनले बढी सनकमा जाँदा शरीरलाई असर पर्ने भन्दै त्यसो नगर्न आग्रह गरे ।
‘बूढा बा सनक्क गर्दा शरीरलाई असर गर्न सक्छ,’ उनले भने, “केपी ओलीलाई लजिक मन पर्दैन मेजिक मन पर्छ ।’
थापाले नेकपा एमालेले गठबन्धनको विरोध गरेर आफै सारथी खोज्दै हिँडेको बताएका छन्। उनले एमाले नेता कार्यकर्ताहरु गठबन्धन बैठकको निर्णण कुरेर बसिरहेको समेत बताए।
‘क्विन्टल भन्नेले पाउ छटक खोजिरहेका छन्। भ्याएसम्म परिवार दलसम्म विप्लवदेखि सिके राउतसम्म,’ थापाले भने, ‘गठबन्धनको बैठकको ढोकामा ढुकिरहेका हुन्छन एमालेका नेता र कार्यकर्ता। बिग्रन्छ कि उनीहरुले उपमेयर दिए हामी मेयर नै दिन्छौ भनेर।’
त्यस्तै, थापाले स्थानीय तहको निर्वाचनमा स्वतन्त्र ढंगले उम्मेदवारी दिएका पार्टीका नेता, कार्यकर्तालाई फिर्ता लिन आग्रह गरेका छन् ।
उनले भने, ‘तर आज म पार्टीका साथीहरुलाई यहीँबाट आह्वान गर्न चाहन्छु– जब पार्टी एउटा निर्णय गरेर निर्वाचनमा होमिन्छ । त्योभन्दा अगाडिसम्म आफ्ना मतभेदहरु हुन्छन् । चुनाव पछाडि फेरि ती विषयमा मतभेदहरु हुन्छन् । तर चुनावमा होमिइसकेपछि त पार्टीको निर्णयलाई सबैले मान्नुपर्छ । सम्मान गर्नुपर्छ । म देशभरीका पार्टीका साथीहरु, जसले अहिले पार्टीको निर्णय भन्दा बाहिर गएर स्वतन्त्र ढंगले उम्मेदवारी दिनु भएको छ । म तमाम ती साथीहरुलाई महामन्त्रीको रुपमा अनुरोध गर्न चाहन्छु–हामीसँग अरु २ दिनको समय बाँकी छ । तपाईँहरुमाथि भएको एउटा एउटा अन्यायको हिसाब किताब हुन्छ । तपाईँहरुमाथि जसलाई विभेद भएको छ । त्यसको एउटा एउटा हिसाब किताब हुन्छ । तपाईँहरुको यसको क्षतिपूर्ति पनि गर्ने गरी न्यायको निर्णय पनि हामी गराउने त्यो ठाउँसम्म पनि हामी पुर्याउँछौं ।’
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे