
काठमाण्डाै । विवेकशील साझा पार्टीले काठमाण्डौ महानगरपालिकाको मेयरमा समीक्षा बास्कोटालाई उम्मेदवार बनाउने भएको छ।
यस्तै, उपमेयरमा कीर्ति तुलाधरलाई उम्मेदवार बनाउने निर्णय भएको विवेकशील साझा पार्टीले जनाएको छ।
आज विज्ञप्ति निकालेर विवेकशील साझा पार्टीले मेयरमा समीक्षा बास्कोटा र उपमेयरमा कीर्ति तुलाधरलाई उम्मेदवार बनाउने निर्णय गरेको जानकारी दिएको हो।
‘देशको राजधानी इमानदार, सक्षम र परिपक्व दुईजना महिलालाई जिम्मा लगाऊँ, राजधानीको गौरव पुनस्र्थापित गरौँ’ नाराका साथ दुईजना महिला उमेदवार अघि सार्ने निर्णय सो पार्टीको केन्द्रीय कार्य सम्पादन समितिले गरेको हो ।
प्रवक्ता शरदराज पाठकका अनुसार बास्कोटा वागमती प्रदेशकी पूर्व संयोजक तथा केन्द्रीय कार्य सम्पादन समितिकी सदस्य हुन । उहाँका अनुसार ३८ वर्षीया बास्कोटाले काठमाडौँ स्कुल अफ लबाट कानुनमा स्नातक गरेर अमेरिकाबाट कानुन मैं स्नातकोत्तर गर्नुभएको छ । गत निर्वाचनमा काठमाडौँ–१ ‘क’ बाट प्रदेशसभाको उमेदवारसमेत बन्नुभएको बाँस्कोटाले २७ प्रतिशत मतसहित तेस्रो स्थान हासिल गर्नुभएको थियो ।
उता, उपमेयरकी उम्मेदवार तुलाधर सो पार्टीका केन्द्रीय सदस्य हुनुहुन्छ । नेपाल जेसीजको तीनजना महिला राष्ट्रिय अध्यक्ष मध्येकी एक तुलाधार अन्तर्राष्ट्रिय जेसीजको पनि दक्षिण एशियाबाटै पहिलो महिला उपाध्यक्ष हुनुभएको थियो । शिक्षा विषयमा स्नातकोत्तर गर्नुभएको ६२ वर्षीया तुलाधर विभिन्न संघ संगठनको नेतृत्वदायी भूमिकामा रहेको प्रवक्ता पाठकले जानकारी दिनुभयो ।
‘विश्वकै विशिष्ट पहिचान बोकेको काठमाडौँ पछिल्ला दशकहरूमा क्रमिकरूपले ध्वस्त भएको परिप्रेक्षमा महानगरपालिकालाई दुईजना इमानदार, सक्षम, परिपक्व र परिवर्तनका लागि प्रतिवद्ध महिलालाई जिम्मा लगाउन सकेको खण्डमा, देशको मुहार परिवर्तनको सुरूवात हुने’ विश्वास पार्टी अध्यक्ष रवीन्द्र मिश्रले व्यक्त गर्नुभएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे