
काठमाडौँ । अमेरिका र इरानबीच १८ घण्टाभन्दा लामो वार्ता भएको छ। दुवै देशबीचको यो लामो छलफल मुख्य रूपमा तनाव घटाउने, क्षेत्रीय सुरक्षा र आणविक कार्यक्रमसँग सम्बन्धित विषयमा केन्द्रित रहेको बताइएको छ। दुवै पक्षले आगामी ६० दिनभित्र अन्तिम सम्झौतामा पुग्ने रोडम्यापमा सहमति जनाउँदै प्राविधिक तहका वार्ता निरन्तर जारी राख्ने निर्णय गरेका छन्।
पाकिस्तान र कतारको मध्यस्थतामा सम्पन्न वार्तापछि जारी संयुक्त विज्ञप्तिअनुसार तेहरान र वासिङ्टनद्वारा गठित उच्चस्तरीय समितिले अन्तिम सम्झौताका लागि कार्ययोजना तय गरेको छ। बाँकी प्राविधिक विषयमा यसै साता बर्गेनस्टकमा थप छलफल हुने जनाइएको छ।
वार्ताका क्रममा लेबनानमा सैन्य गतिविधिको अन्त्य कार्यान्वयन सुनिश्चित गर्न अमेरिका, इरान, लेबनानी सरकार तथा मध्यस्थकर्ताको सहभागितामा द्वन्द्व व्यवस्थापन संयन्त्र स्थापना गर्ने सहमति पनि भएको छ।
वार्ताका क्रममा लेबनानमा युद्धविराम कार्यान्वयन, दक्षिणी लेबनानमा इजरायली सेना र हिजबुल्लाहबीच जारी झडप तथा ‘डि–कन्फ्लिक्सन मेकानिज्म’ सम्बन्धी विषयमा पनि छलफल भएको थियो।
मध्यस्थकर्ता मुलुकका एक स्रोतले लेबनानसम्बन्धी छलफल ‘तनावपूर्ण’ बनेको भनेर एक्सियसलाई बताएका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे