काठमाडौँ । तुइन विस्थापन गरी नागरिकलाई सुरक्षित र भरपर्दो आवतजावत सुविधा उपलब्ध गराउने उद्देश्यले सञ्चालन हुँदै आएको झोलुङ्गे पुल निर्माण कार्यक्रम अन्तर्गत चालु वर्षमा उल्लेखनीय प्रगति हासिल भए पनि केही महत्वपूर्ण आयोजना अझै सम्पन्न हुन सकेका छैनन्।
नेपाल सरकारको २०७२ असार २५ गतेको निर्णयअनुसार तुइन रहेका स्थानमा झोलुङ्गे पुल निर्माण गर्ने कार्यक्रम कार्यान्वयनमा ल्याइएको थियो। चालु आर्थिक वर्षमा ३०० झोलुङ्गे पुल निर्माण गर्ने लक्ष्य तय गरिएकोमा २९१ वटा पुल निर्माण सम्पन्न भएका छन्।
सरकारले पहिचान गरेका तुइन भएका १४३ स्थानमध्ये हालसम्म १४१ स्थानमा झोलुङ्गे पुल निर्माण सम्पन्न भइसकेको छ। यससँगै देशका अधिकांश जोखिमपूर्ण तुइन विस्थापन भई स्थानीय बासिन्दाले सुरक्षित आवतजावतको सुविधा प्राप्त गरेका छन्।
तर सुर्खेत र कैलाली जोड्ने बुगाडघाट क्षेत्रमा कर्णाली नदीमाथि निर्माणाधीन झोलुङ्गे पुल अझै सम्पन्न हुन सकेको छैन। उक्त पुल निर्माणका लागि २०७३ माघ २३ गते एक संयुक्त उपक्रमसँग ५६ लाख ९ हजार रुपैयाँमा सम्झौता भएको थियो। २०७४ माघ १८ गतेभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिए पनि सातौँ पटकसम्म म्याद थपेर २०८३ असार ३० गते पुर्याइएको छ। यद्यपि आयोजना अपेक्षित गतिमा अघि बढ्न नसकेको र हाल निर्माण कार्यसमेत रोकिएको अवस्था रहेको छ।
त्यसैगरी महाकाली नदीस्थित पञ्चेश्वरघाटमा रहेको तुइन विस्थापन कार्यक्रमसमेत अझै कार्यान्वयन हुन सकेको छैन। यसले तुइनमुक्त नेपाल अभियानलाई पूर्णता दिन चुनौती थपिएको देखाएको छ।
सम्बन्धित निकाय तथा सरोकारवालाबीच प्रभावकारी समन्वय गरी बाँकी रहेका आयोजनाको निर्माण कार्य शीघ्र सम्पन्न गर्नुपर्ने आवश्यकता औँल्याइएको छ। लक्ष्यअनुसार कार्यक्रम सम्पन्न भए तुइनमार्फत जोखिमपूर्ण यात्रा गर्न बाध्य नागरिकलाई दीर्घकालीन रूपमा सुरक्षित यातायात सुविधा उपलब्ध हुने अपेक्षा गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे