
चितवन । एक युवकको हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नवलपरासीको गैँडाकोटका २७ वर्षीय कृष्णबहादुर खड्का र हाल पोखरामा बस्दै आएका २८ वर्षीय सम्राट गुरुङ रहेका छन् ।
प्रहरीका अनुसार उनीहरूलाई पोखराको अशोक होटलबाट पक्राउ गरिएको हो । खड्काले वैशाख २२ गते भरतपुर–७ बुद्धचोकस्थित एक अटो पसल अगाडि रुपन्देहीको सैनामैनाका ३० वर्षीय आशीष खनालमाथि धारिलो हतियार प्रहार गरेका थिए । घटनामा गम्भीर घाइते भएका खनालको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा खड्का र खनालबीच पैसा र मोबाइलको विषयमा विवाद भएको खुलेको छ । खनालको मोबाइल खड्काले प्रयोग गर्दै आएका थिए । मोबाइल फिर्ता मागेपछि सामाजिक सञ्जालमा समेत विवाद भएको प्रहरीको भनाइ छ ।
सम्राट गुरुङले घटनापछि खड्कालाई लुकाएर सहयोग गरेको आरोपमा पक्राउ परेका हुन् । दुवै जनामाथि ज्यानसम्बन्धी मुद्दा दर्ता गरी प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे