
काठमाडौं । भक्तपुरस्थित ख्वप इन्जिनियरिङ कलेजको ‘टिम फ्लक्सेल’ले विश्वकै ठूलो विद्यार्थी नेतृत्वयुक्त प्रारम्भिक उद्यम प्रतिस्पर्धामध्ये एक ‘हल्ट प्राइज नेपाल २०२६’ को राष्ट्रिय उपाधि जितेको छ । ललितपुरको जावलाखेलस्थित सेन्ट जेभियर्स विद्यालयमा सम्पन्न राष्ट्रिय फाइनलमा कफीको फोहोर पुनः प्रयोग गरी च्याउ उत्पादन गर्ने दिगो तथा चक्रिय अर्थतन्त्रमा आधारित व्यावसायिक अवधारणा प्रस्तुत गर्दै टोली विजेता बनेको हो ।
नेपालभरका ४६ कलेजबाट सहभागी १६० भन्दा बढी प्रतिस्पर्धीलाई पछि पार्दै ‘टिम फ्लक्सेल’ले उपाधि हासिल गरेको आयोजकले जनाएको छ । प्रतियोगितामा प्रारम्भिक प्रस्तुति र निर्णायकहरूसँगको प्रत्यक्ष प्रश्नोत्तर चरण पार गर्दै टोलीले निर्णायक मण्डललाई प्रभावित पारेको थियो ।
कार्यक्रमकी प्रमुख अतिथि प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना मगरले युवा पुस्ताले उद्यमशीलता र नवप्रवर्तनमार्फत सामाजिक तथा वातावरणीय चुनौतीको समाधान खोज्नुपर्ने बताउनुभयो । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले देशको भविष्य निर्माणमा युवा नेतृत्वको सिर्जनात्मक सोच र प्रविधिमैत्री अवधारणाको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्नुभयो ।
ब्रिटिश काउन्सिल नेपालकी परीक्षा निर्देशक प्रतिष्ठा थापा रायमाझीले नेपाली विद्यार्थीका लागि नेतृत्व, नवीनता र उद्यमशीलतामार्फत अन्तर्राष्ट्रिय अवसर विस्तार भइरहेको बताउनुभयो । हल्ट प्राइज नेपालकी राष्ट्रिय सल्लाहकार सुबी काफ्लेले आफ्ना अनुभव साझा गर्दै सहभागी युवाहरूलाई निरन्तर प्रयास र सिर्जनशील सोचमा केन्द्रित रहन आग्रह गर्नुभयो ।
प्रतियोगितामा राष्ट्रिय विजेता बनेसँगै ‘टिम फ्लक्सेल’ले एक लाख रुपैयाँ नगद पुरस्कार तथा नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चबाट ५० हजार रुपैयाँ बीउ पूँजी प्राप्त गरेको छ । अब उक्त टोलीले अन्तर्राष्ट्रिय स्तरको ‘हल्ट प्राइज विश्वव्यापी प्रवर्द्धन कार्यक्रम’मा नेपालको प्रतिनिधित्व गर्नेछ ।
ब्रिटिश काउन्सिलको प्रस्तुति तथा युवा सोलुसन्सद्वारा आयोजित कार्यक्रममा विभिन्न शैक्षिक, व्यावसायिक तथा सञ्चार साझेदार संस्थाहरूको सहयोग रहेको थियो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे