
काठमाडौं । गत आर्थिक वर्ष २०८१/८२ मा बैंक तथा वित्तीय संस्थाले नाफाबाट कर्मचारी बोनसका लागि उल्लेख्य रकम छुट्याएका छन्। बोनस ऐनअनुसार नाफाको १० प्रतिशत बोनस प्रयोजनका लागि छुट्याउनुपर्ने प्रावधानअनुरूप सो वर्षमा कुल ११ अर्ब ७५ करोड ६५ लाख रुपैयाँ छुट्याइएको हो। यो अघिल्लो वर्षको तुलनामा उल्लेख्य वृद्धि भएको देखिन्छ।आर्थिक वर्ष २०८०/८१ मा कर्मचारी बोनस प्रयोजनका लागि जम्मा ९ अर्ब १९ करोड ७८ लाख रुपैयाँ छुट्याइएको थियो। तर, २०८१/८२ मा बैंकहरूको नाफा सुधार हुँदा कर्मचारी बोनसमा समेत प्रत्यक्ष वृद्धि भएको हो। यसअघि २०७८/७९ मा ११ अर्ब ७६ करोड रुपैयाँभन्दा बढी बोनस वितरण भएको भए पनि त्यसपछिका वर्षमा यो रकम घट्दै गएको थियो।गत आर्थिक वर्षमा मात्र वाणिज्य बैंकहरूले सबैभन्दा ठूलो हिस्सा ओगट्दै बोनस प्रयोजनका लागि १० अर्ब ६१ करोड १४ लाख रुपैयाँ छुट्याएका छन्। अघिल्लो वर्ष उनीहरूले ८ अर्ब २१ करोड रुपैयाँ वितरण गरेका थिए। विकास बैंकहरूले सो अवधिमा ९६ करोड रुपैयाँ बोनस छुट्याउँदा, फाइनान्स कम्पनीहरूले १८ करोड रुपैयाँ छुट्याएका छन्। यसअघि विकास बैंकहरूले ८७ करोड रुपैयाँ र फाइनान्स कम्पनीहरूले १० करोड रुपैयाँ बोनस वितरण गरेका थिए।
बोनस छुट्याउने बैंकमध्ये नबिल बैंक अग्रणी रहेको छ। सो बैंकले १ अर्ब १४ करोड ९५ लाख रुपैयाँ कर्मचारी बोनसका लागि छुट्याएको छ। त्यसपछि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले १ अर्ब ६ करोड ७८ लाख रुपैयाँ, ग्लोबल आईएमई बैंकले करिब ९८ करोड रुपैयाँ, र एभरेष्ट बैंकले करिब ८३ करोड रुपैयाँ छुट्याएका छन्।
विकास बैंकहरूको हकमा मुक्तिनाथ विकास बैंकले करिब २५ करोड रुपैयाँ र गरिमा विकास बैंकले २१ लाख रुपैयाँ बोनस छुट्याएका छन्। त्यस्तै, फाइनान्स कम्पनीमा आईसीएफसीले साढे ५ करोड रुपैयाँ र मञ्जुश्री फाइनान्सले ५ करोड रुपैयाँभन्दा बढी बोनस छुट्याएका छन्।
विश्लेषकहरूका अनुसार, गत वर्ष बैंक तथा वित्तीय क्षेत्रमा सुधारिएको नाफाले कर्मचारी बोनसमा सकारात्मक प्रभाव पारेको हो। यसले कर्मचारीको मनोबल मात्र होइन, वित्तीय संस्थाको सञ्चालनगत कार्यक्षमता सुधार हुने अपेक्षा गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे