
पेरिस / तेहरान / तेलअविव (एजेन्सी)।तेहरानमा शृंखलाबद्ध विस्फोटहरू भएका छन् भने इजरायलको राजधानी तेलअविवमा एयर रेड साइरन बजाइएको छ। इरानले इजरायली भूमिमाथि इतिहासकै सबैभन्दा ठूलो र तीव्र मिसाइल आक्रमण गर्न लागेको घोषणा गरेको छ। यो तयारी इरानी सरकारी टेलिभिजन कार्यालयमाथिको इजरायली हवाई आक्रमणपछि गरिएको हो।
इरानी सुरक्षास्रोतहरूका अनुसार, तेहरानमा भएका विस्फोटहरू विदेशी मिसाइल आक्रमणको सम्भावित संकेत हुन्। इरानले यसलाई राष्ट्रिय सार्वभौमिकताको गम्भीर उल्लंघन भन्दै सशस्त्र प्रतिकारको तयारी गरिरहेको जनाएको छ।
उता, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले कडा अभिव्यक्ति दिँदै भनेका छन्, “यदि हामीले इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीलाई लक्ष्य बनाएर आक्रमण गर्यौं भने, यसले युद्ध बढाउने होइन, बरु यसले द्वन्द्वको अन्त्य गर्नेछ।”
हाल इजरायल र इरानबीच कूटनीतिक संवाद पूर्ण रूपमा अवरुद्ध छ, र दुबै पक्ष आक्रमण र प्रत्याक्रमणमा उत्रिइसकेका छन्। यस्तो अवस्थामा क्षेत्रीय युद्ध फैलने जोखिम थप उच्च भएको सुरक्षा विश्लेषकहरूको चेतावनी छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र विदेश मन्त्री मार्को रुबियोले मध्यपूर्वमा उत्पन्न परिस्थितिलाई कारण देखाउँदै फ्रान्समा जारी G7 सम्मेलनबाट समयभन्दा एक दिन अघि नै प्रस्थान गरेका छन्।
ह्वाइट हाउसले दिएको जानकारी अनुसार, हाल इजरायल र इरानबीच चुलिँदै गएको सैन्य तनावका कारण यस्तो निर्णय लिइएको हो। फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोंले अमेरिकाले इजरायल र इरानबीच युद्धविरामका लागि प्रस्ताव गरेको जानकारी दिएका छन्। उता, अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार अमेरिका अहिले इरानका सर्वोच्च कूटनीतिज्ञसँग भेटवार्ता गरी युद्धविराम र आणविक सम्झौताका विषयमा छलफल गर्न इच्छुक छ।
यसैबीच, इजरायल र इरानबीच आक्रमण र प्रत्याक्रमण जारी छ। इजरायली आक्रमणपछि पूर्वी तेहरानमा धुवाँ देखिएको पुष्टि गरिएको छ भने, इरानी मिसाइल प्रहारपछि इजरायलको तेलअविव र हाइफाजस्ता मुख्य सहरहरूमा एयर रेड साइरन सक्रिय गरिएको छ।
इरानी सञ्चारमाध्यमहरूमार्फत जानकारी अनुसार, केन्द्रिय इरानमा रहेको नताञ्ज आणविक स्थलगत क्षेत्रमा पनि वायु सुरक्षा प्रणाली सक्रिय गरिएको छ। उक्त स्थानमा इरानका महत्वपूर्ण आणविक प्रयोगशाला रहेका छन्।
तेहरानस्थित इरानको सरकारी प्रसारण संस्था IRIB का कार्यालयमा इजरायली आक्रमण हुँदा दुई जना कर्मचारीको मृत्यु भएको इरानको आधिकारिक समाचार संस्था IRNA ले जनाएको छ।
घटनाक्रमको गम्भीरतालाई ध्यानमा राख्दै चीन र दक्षिण कोरियाले आफ्ना नागरिकलाई इजरायल छाड्न आग्रह गरेका छन्। उता, अमेरिका सरकारले यरुशलम र तेलअविवस्थित आफ्ना कूटनीतिक कार्यालयहरू बन्द नै राख्ने निर्णय लिएको जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे