
काठमाडौँ । द्वन्द्वग्रस्त इजरायल र इरानमा रहेका सबै नेपाली नागरिक सुरक्षित रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार इजरायलमा करिब ५,५०० र इरानमा करिब १२ जना नेपाली रहेका छन्। इजरायलस्थित नेपाली दूतावासका अनुसार हालसम्म एकजनाले मात्र उद्धारको अनुरोध गरेका छन् भने बाँकीले आफूहरू सुरक्षित रहेको जनाएका छन्।
दूतावासले सूचना जारी गर्दै अत्यावश्यक नपरी घरबाहिर ननिस्कन तथा सुरक्षित आश्रयस्थलको आसपासमा बस्न अनुरोध गरेको छ। इजरायलमा समस्या परेमा तेल अभिभस्थित नेपाली दूतावास र इरानमा समस्या परेमा कतारको दोहास्थित नेपाली नियोगमा सम्पर्क गर्न मन्त्रालयले आग्रह गरेको छ।
हाल इरानमा नेपाली दूतावास नरहेकाले त्यहाँ रहेका नेपालीहरुले कतारस्थित दूतावासमार्फत समन्वय गर्नुपर्नेछ। परराष्ट्र मन्त्रालयले दुबै देशमा रहेका नेपालीको सुरक्षालाई उच्च प्राथमिकतामा राख्न सम्बन्धित दूतावासलाई निर्देशन दिएको छ।
परराष्ट्रमन्त्री आरजू देउवा राणाले इजरायल र कतारस्थित नेपाली राजदूतहरूसँग टेलिफोन सम्पर्क गरी नेपाली नागरिकको सुरक्षामा कुनै कसर नराख्न निर्देशन दिएकी छिन्। साथै, सुरक्षा सतर्कता सम्बन्धी सूचना नियमित रूपमा सम्प्रेषण गर्न पनि निर्देशन दिइएको मन्त्रालयले जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे