
नवलपरासी (नवलपुर), असार २ – पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) क्षेत्रको दुम्किवासमा रहेको डाइभर्सन आज बिहानको बाढीमा बगाउँदा राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।
जिल्ला प्रहरी कार्यालय, नवलपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) मधु नेपालका अनुसार बाढीको बहाव अझै कायम रहेको र तत्काल डाइभर्सन मर्मत सम्भव नरहेको बताए। डाइभर्सन बगाएसँगै सवारी साधनको नियमित आवागमन अवरुद्ध भएको छ।
यातायात सञ्चालनमा समस्या देखिएपछि साना तथा यात्रुवाहक सवारीहरूलाई वैकल्पिक मार्गको रूपमा होङ्सी गेट हुँदै सर्दी मार्ग प्रयोग गरी संचालन गरिँदैछ।
यसैबीच, बुटवल–नारायणगढ सडक विस्तार आयोजना अन्तर्गत निर्माणाधीन पुलको ढलान कार्य सम्पन्न भइसकेको सूचना अधिकारी शिव खनालले जानकारी दिए। उनका अनुसार असारको दोस्रो साताबाट नयाँ पुल सञ्चालनमा ल्याउने तयारी छ।
स्थानीय प्रशासन र सडक डिभिजन कार्यालयले बाढीको बहाव नियन्त्रणमा आएपछि डाइभर्सन पुनः निर्माण तथा सवारी सञ्चालन सहज बनाउन आवश्यक कदम चाल्ने जनाएका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे