
पोखरा । पोखरा महानगरपालिकामा सञ्चालित ईसिडीदेखी कक्षा ३ सम्मको शैक्षिक सुधार तथा नमुना विद्यालय विकास कार्यक्रम प्रभावकारी देखिएको छ। इनोभेसन इन एजुकेसन (इसिइसि) को पहलमा महानगर क्षेत्रका १२ विद्यालयमा सञ्चालनमा रहेको उक्त कार्यक्रमले सकारात्मक प्रभाव पारिरहेको समीक्षा प्रतिवेदनमा उल्लेख गरिएको छ।
परियोजना अन्तर्गत शिक्षकहरूको क्षमता अभिवृद्धि, अभिभावक शिक्षा तथा सचेतना कार्यक्रम, प्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक सङ्घका प्रतिनिधिहरूका लागि नेतृत्व विकास कार्यक्रम सञ्चालन हुँदै आएको छ। साथै, अन्तर्राष्ट्रिय बाल विकास सहजकर्ता प्रशिक्षण, निरन्तर अनुगमन, परामर्श तथा सहायता कार्यक्रमहरू सञ्चालन गरिँदै आएका छन्।
२०७९ साल पौषदेखि शैक्षिक सुधार परियोजनाका रूपमा सुरु भएको कार्यक्रमले विद्यालयहरूको शैक्षिक वातावरण सुधारमा महत्त्वपूर्ण योगदान पुर्याएको जनाइएको छ। इसिइसिका प्रबन्ध निर्देशक पीताम्बर न्यौपानेका अनुसार संस्थाले सन् २००१ देखि देशभरका सरकारी तथा निजी विद्यालयसँग सहकार्य गर्दै शैक्षिक सुधारका कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ।
हालै सम्पन्न परियोजना समीक्षामा इसिइसिका अनुसन्धान तथा विकास विभागका उपप्रमुख सिङ्गी थिकेपा ल्होमी र परियोजना इन्चार्ज विजय तामाङले परियोजनाको प्रगति विवरण प्रस्तुत गरेका थिए। पोखरा महानगरपालिका शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यले परियोजनाले विद्यालय तहको शैक्षिक सुधारमा सकारात्मक प्रभाव पारेको बताइएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे