
काठमाडौं , ४ असार । आइसीसी टी–२० विश्वकप क्रिकेटको समूह चरणको अन्तिम खेलमा न्युजिल्याण्ड विजयी भएको छ । सोमबार राति भएको खेलमा समूह बीबाट पहिला नै बाहिर भइसकेका न्युजिल्याड र पपुवा न्युगिनी (पीएनजी) भिडेका थिए ।
न्युजिल्यान्डले पपुवा न्युगिनीलाई ७ विकेटले पराजित गर्दै प्रतियोगितामा दोस्रो जितका साथ यात्रा समाप्त गरेको हो । पहिला खेलेको पपुवा न्युगिनीको पूरै टोलीले १९.४ ओभरमा सबै विकेट गुमाएर ७८ रन मात्र बनाउन सक्यो, जवाफमा न्युजिल्यान्डले १२.२ ओभरमा ३ किवेट गुमाएर जित दर्ता गरेको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको पपुवा न्युगिनीका दुवै ओपनर सस्तैमा आउट भएका थिए । टोनी उराले मात्र १ रन बनाए भने कप्तान असद भाला १६ बलमा ६ रन बनाएर पभेलियन फर्किए । चार्ल्स अमिनी र सेसे बाउको जोडीले स्कोर ४० भन्दा माथि पुर्याए पनि १७ रनको व्यक्तिगत स्कोरमा अमिनी आउट हुनेबित्तिकै विकेट झर्ने क्रम सुरु भयो । त्यसपछि केही समयमै स्कोर ५६ रन पुग्दा ६ विकेट गुम्यो । त्यसपछि पनि ब्याट्सम्यान टिक्न सकेनन् र एकपछि अर्को गर्दै आउट हुँदै गए । यसरी पपुवा न्युगिनीको इनिङ्स अन्तिम ओभरमा सामान्य स्कोरमा समाप्त भयो । न्यूजिल्याण्डका लागि, लोकी फर्गुसनले सबैभन्दा बढी तीन विकेट लिए र टी–२० विश्वकपमा चार मेडेन ओभर बलिङ गर्ने पहिलो बलर पनि बने ।
लक्ष्य पछ्याउने क्रममा न्युजिल्यान्डको सुरुवात पनि खराब रह्यो । ओपनर फिन एलन इनिङ्सको दोस्रो बलमा खाता खोल्न नसकेर आउट भए । रचिन रविन्द्रले पनि ६ रन बनाएर आउट भए । कप्तान केन विलियम्सन सँगसँगै डेभन कोनवेले स्कोरलाई ५० भन्दा माथि पुर्याए । तर उनी पनि ३२ बलमा ३५ रन बनाएर आउट भए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे