
काठमाडौँ, ११ मंसिर । गायिका तथा नेकपा (एमाले) का नेता कोमल वलीको परिवारले स्वर्गीय आमा दीपा वलीको नाममा २० लाख रुपियाँको अक्षय कोष स्थापना गरेको छ ।आमाको सम्झनामा दाङका छात्रालाई अध्ययनका लागि सहज होस् भन्ने उद्देश्यले यो अक्षय कोष स्थापना गरिएको कोमल वलीले बताउनुभयो ।
अक्षय कोषबाट दाङका थारु समुदाय र दलित समुदायका छात्रालाई पढ्न छात्रवृत्ति प्रदान गरिने नेता वलीले बताउनुभयो ।‘एक जना थारु समुदाय र एक जना दलित समुदायबाट गरेर कक्षा ८ बाट उच्च शिक्षासम्मका लागि अध्ययनमा सहज होस् भनेर सम्पूर्ण खर्च यो ट्रष्टले व्यहोर्ने छ’ वलीले बताउनुभयो ।
‘आमाले पढ्न पाउनु भएन’ उहाँले भन्नुभयो, ‘स्कुल जान नपाए पनि आमामा राम्रो राजनीतिक तथा सामाजिक चेत थियो, छोरीहरुले पनि पढ्नुपर्छ भनेर हामीलाई सधैं पढ्न हौसला प्रदान गर्नुहुन्थ्यो ।’ आमाले सबैका छोरी पढ्नु पर्छ भन्नेगरेको र उहाँको नाममा स्थापित यो कोषले आर्थिक अभावमा अध्ययनबाट वञ्चित छोरीहरुलाई सहयोग गर्ने विश्वास आफूले लिएको वलीले बताउनुभयो ।
त्यस्तै, वली परिवारले वर्षेनी आमा दीपाको स्मृति दिवसको अवसर पारेर एक जना महिलालाई सम्मान गर्ने पनि घोषणा गरेको छ । राजनीतिमा लागेर कुनै लाभको पदमा नपुगेका ६० वर्षमाथिका महिलालाई ‘दीपा वली स्मृति सम्मान’ बाट सम्मान गरिने नेता वलीले बताउनुभयो ।
आफ्नी आमा पञ्चायतकालीन समयमा नै महिला संघमा सक्रिय रहेर नगर उपाध्यक्षसम्म बनेर काम गरेको स्मरण गर्दै वलीले भन्नुभयो, ‘आमा राजनीतिमा महिलाको सहभागिता हुनुपर्छ, त्यसले परिवार र समाज दुवैलाई उन्नत बनाउन र चेतना फैलाउन सहयोग गर्छ ।’ उहाँकै विश्वासलाई आधार बनाएर वर्षेनी महिलालाई सम्मान गर्ने योजना बनाएको नेता वलीको भनाइ छ ।
दीपा वली र उहाँका श्रीमान ललित वलीको नाममा स्थापित दीपा–ललित ट्रष्टले छात्रवृत्ति र सम्मानको कार्यक्रमको कार्यविधि बनाएर कार्यान्वयन गर्ने र पहिलो वार्षिकीमा यो वितरण गरिने पनि वलीले जानकारी दिनुभयो ।
कोमल वलीको चर्चित गीत ‘मलमल किरी जुनकिरी’ लगायत २ दर्जनभन्दा बढी गीतको रचनाकार समेत रहनुभएकी दीपा वलीको मंसिर २ गते काठमाडौंमा निधन भएको थियो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे