
काभ्रेपलाञ्चोक । सोमबार साँझ परेको लगातार वर्षाका कारण रोसी खोलामा आएको बाढीमा फसेका ८९ जना यात्रुलाई करिब ९ घण्टापछि सकुशल उद्धार गरिएको छ। बनेपा, पनौती, धुलिखेललगायत क्षेत्रमा परेको वर्षापछि बीपी राजमार्गको घुमाउने क्षेत्रमा पाँच वटा हायस र इभी गाडी बाढीको बीचमा अड्किएका थिए।
साँझ करिब ५ बजेदेखि गाडीहरू खोलामै रोकिँदा यात्रुहरू फसेका थिए। उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी खटिएका थिए। सुरुमा प्रयास गर्दा सफल नभएपछि राति राफ्टिङ बोट प्रयोग गरेर अन्ततः सबै यात्रुको उद्धार गरिएको हो।
उद्धारपछि यात्रुलाई बस र प्रहरीको गाडीमार्फत गन्तव्यतर्फ पठाइएको थियो। प्रहरीले दिएको जानकारी अनुसार, सवारी रोकिएको अवस्थामा पनि चालकहरूले जबरजस्ती गाडी अघि बढाएका कारण यस्तो घटना भएको हो। अहिले पाँचै जना चालकलाई नियन्त्रणमा लिइएको छ।
बाढीले अस्थायी सडक बगाएकाले गाडीहरू भने त्यहीँ अड्किएका छन्। यस क्षेत्रमा वर्षायाममा बाढी आउँदा यातायात अवरुद्ध हुने समस्या दोहोरिँदै आएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे