
निर्वाचन आयोगले आसन्न स्थानीय तह निर्वाचनका उम्मेदवारको खर्च बैंक खातामार्फत सञ्चालन गर्न निर्देशन दिएको छ।आयोगले चुनावी खर्चको अनुगमन गरिरहेको छ भने उम्मेदवारको खर्च बैंक खातामार्फत सञ्चालन गर्न निर्देशन दिएको छ । मंगलबार आयोगले विज्ञप्ति जारी गरी निर्वाचन आयोग ऐन, २०७३, निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ तथा निर्वाचन आचारसंहितालाई ख्याल गरी बैंक मार्फत मात्र खर्च गर्न आग्रह गरेको हो । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जारी गरेको विज्ञप्तिमा उम्मेदवारले निर्वाचनसम्बन्धी खर्च गर्दा खर्च गर्ने जिम्मेवार पदाधिकारी तोक्नुपर्ने उल्लेख छ ।
पदाधिकारीको नाम नामेसीसहितको विवरण उम्मेदवारले निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन कार्यालयमा जानकारी गराउनुपर्ने, राजनीतिक दलले निर्वाचन सम्बन्धी खर्च गर्दा बैंक खाता मार्फत दलले तोकेको जिम्मेवार पदाधिकारीद्वारा खर्च गर्नु पर्ने ,२५ हजार रूपैयाँभन्दा बढी आर्थिक सहयोग प्राप्त गर्दा बैङ्क वा वित्तीय संस्था मार्फत गर्नुपर्ने, व्यक्ति वा संस्थाबाट चन्दाको रूपमा नगद लिएमा सो रकम बुझेको रसिद वा भर्पाई दिई उम्मेदवारको वा राजनीतिक दलको बैङ्क खातामा जम्मा गर्नु पर्ने प्रावधान आचारसंहितामा छ ।
त्यस्तै, खर्चको विवरण तथा बिल भरपाई राख्नुपर्ने, आम्दानी तथा खर्चको विवरण प्रचलित कानुन बमोजिम आयोगले तोकेको ढाँचामा निर्वाचन कार्यालय वा आयोगमा बुझाउनुपर्ने, आयोगले खर्चको बिल भरपाई तथा बैंक वा वित्तीय संस्थामा रहेको खाताको विवरण पेश गर्न आदेश दिएमा सक्कल बिल भरपाई तथा बैंक वा वित्तीय संस्थाको खाताको विवरण पेश गर्नुपर्ने व्यवस्था रहेको स्मरण गराइएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे