
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा जारी प्रथम महाधिवेशनअन्तर्गत नवनिर्वाचित केन्द्रीय सदस्यहरूको अन्तिम नतिजा सार्वजनिक गरिएको छ। निर्वाचन समितिले बिहीबार सम्पन्न मतदानको मतगणना सकिएपछि शुक्रबार बिहान ९९ सदस्यीय केन्द्रीय समितिमा निर्वाचित सदस्यहरूको सूची सार्वजनिक गरेको हो।
महाधिवेशनअन्तर्गत केन्द्रीय समितिका ९९ सदस्य चयनका लागि बुधबार रातिदेखि बिहीबार मध्याह्नसम्म मतदान भएको थियो। त्यसपछि मतगणना सम्पन्न गरी निर्वाचित सदस्यहरूको आधिकारिक नतिजा सार्वजनिक गरिएको निर्वाचन समितिले जनाएको छ।
यसअघि सार्वजनिक कार्यतालिकाअनुसार पदाधिकारी चयनका लागि निर्वाचन शुक्रबार रातिदेखि सुरु गर्ने तयारी गरिएको थियो। तर निर्धारित समय बितिसक्दा पनि पदाधिकारी निर्वाचन प्रक्रिया सुरु हुन नसकेको जनाइएको छ।
निर्वाचन समितिले पदाधिकारी निर्वाचनका सम्बन्धमा नयाँ कार्यतालिका सार्वजनिक गर्ने तयारी गरिरहेको स्रोतले जनाएको छ। महाधिवेशनबाट नयाँ नेतृत्व चयन हुने भएकाले पदाधिकारी निर्वाचनलाई रास्वपाको भावी संगठनात्मक संरचना निर्धारण गर्ने महत्वपूर्ण चरणका रूपमा हेरिएको छ।




सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे