
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङविरुद्ध राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी परेको छ। हिरासतमा रहेका व्यक्तिहरूलाई भेट्ने क्रममा उनले मानसिक दबाब दिएको र ज्यान मार्ने धम्की दिएको आरोप लगाइएको छ।
अजय सोडारी, प्रकाश बम र सुजन पौडेलले आयोगको पुल्चोकस्थित कार्यालयमा पुगेर उजुरी दर्ता गरेका हुन्। उनीहरूको भनाइमा, राज्यको जिम्मेवार पदमा रहेका व्यक्तिबाटै मानवअधिकार उल्लंघन भएको छ।
यो घटना जेठ १९ गतेको हो। त्यस दिन कालापानी, लिपुलेख र लिम्पियाधुरा नेपालको भाग भएको भन्दै र भारतको विरोधमा गरिएको प्रदर्शनपछि उनीहरूलाई प्रहरीले पक्राउ गरेको थियो। पक्राउ परेपछि उनीहरूलाई सोह्रखुट्टे प्रहरी वृत्तमा राखिएको थियो।
उजुरीमा भनिएको छ कि गृहमन्त्री दलबलसहित हिरासतमा प्रवेश गरेर गालीगलौज र धम्की दिएका थिए, जसले उनीहरूलाई मानसिक तनाव दिएको छ।
उजुरीकर्ताहरूले घटनाको सत्यतथ्य जाँच गर्न माग गरेका छन्। साथै, हिरासतको सिसिटिभी फुटेज, आगन्तुक रेकर्ड र ड्युटी रजिस्टर सुरक्षित राख्न पनि आयोगसँग अनुरोध गरिएको छ। उनीहरूले आयोगले तत्काल टोली पठाएर अनुसन्धान गर्नुपर्ने माग गरेका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे