
काठमाडौँ । चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनअन्तर्गत बन्दसत्र निर्धारित समयभन्दा ढिलो सुरु हुने भएको छ। आज बिहान साढे ८ बजेदेखि बन्दसत्र सुरु गर्ने कार्यक्रम रहे पनि प्रतिनिधिहरूको नामावलीमा देखिएका त्रुटि सच्याउने काम जारी रहेकाले कार्यक्रम ढिलिएको हो।
निर्वाचन समितिले आइतबार करिब ४ हजार प्रतिनिधिको प्रारम्भिक नामावली सार्वजनिक गरेको थियो। तर नाम, विवरण तथा अन्य सूचनामा धेरै त्रुटि भेटिएपछि त्यसलाई सच्याउने प्रक्रिया अघि बढाइएको छ। प्रतिनिधिहरूले आफ्नो विवरण सच्याउन फाराम भरेर निवेदन दिइरहेका छन्। यस कारण बन्दसत्रस्थल वरपर प्रतिनिधिहरूको उल्लेख्य भीड देखिएको छ।
बन्दसत्रमा केन्द्रीय समितिले पारित गरेको विधान संशोधन प्रस्ताव, साङ्गठनिक प्रतिवेदन, राजनीतिक प्रतिवेदन तथा आर्थिक प्रतिवेदन पेश गरिने कार्यक्रम छ। यिनै दस्तावेजमाथि छलफल गरी आवश्यक निर्णय गरिनेछ।
रास्वपाको निर्वाचन आयोगले आज दिउँसो १ बजेदेखि औपचारिक निर्वाचन प्रक्रिया सुरु गर्ने तयारी गरेको छ। महाधिवेशनबाट पार्टीको नयाँ नेतृत्व चयन हुनेछ। सभापति पदमा रवि लामिछानेलाई नै सर्वसम्मत रूपमा निरन्तरता दिने तयारी भए पनि निर्वाचन आयोगले आवश्यक परे मतदान गर्न सकिने गरी निर्वाचन तालिका सार्वजनिक गरिसकेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे