
काठमाडौँ । नेपाल सम्पत्ति शुद्धीकरण तथा आतंकवादी गतिविधिमा लगानी नियन्त्रणसम्बन्धी जोखिमयुक्त सूची (ग्रे लिस्ट) बाट बाहिरिन पुनः असफल भएको छ। फ्रान्सको पेरिसमा सम्पन्न फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) को प्लेनरी तथा वर्किङ ग्रुप बैठकले नेपाललाई निगरानी सूचीमै कायम राख्ने निर्णय गरेको हो।
एफएटीएफले सम्पत्ति शुद्धीकरण र आतंकवादी गतिविधिमा हुने वित्तीय लगानी नियन्त्रणका लागि विभिन्न मुलुकको अवस्थालाई प्रभावकारिता र प्राविधिक अनुपालनका आधारमा मूल्यांकन गर्ने गर्छ। यसअन्तर्गत प्रभावकारितातर्फ ११ वटा सूचक तथा प्राविधिक पक्षतर्फ ४० वटा सूचकमार्फत मूल्यांकन गरिन्छ।
नेपाल यसअघि सन् २००८ मा एफएटीएफको जोखिम सूचीमा परेको थियो भने सन् २०१४ मा उक्त सूचीबाट बाहिरिएको थियो। तर पछिल्लो समय सम्पत्ति शुद्धीकरण नियन्त्रण, कानुन कार्यान्वयन, वित्तीय क्षेत्रको अनुगमन तथा उच्च जोखिमयुक्त क्षेत्र व्यवस्थापनमा अपेक्षित सुधार हुन नसकेको निष्कर्षपछि नेपाल पुनः ग्रे लिस्टमै कायम रहेको हो।
एफएटीएफले नेपाललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी कानुनी व्यवस्था प्रभावकारी कार्यान्वयन, अनुसन्धान तथा कारबाही प्रक्रिया सुदृढीकरण, वित्तीय संस्थाको निगरानी प्रणाली सुधार तथा उच्च जोखिम भएका क्षेत्रमा नियन्त्रण प्रभावकारी बनाउन थप सुधार गर्न सुझाव दिएको छ।
ग्रे लिस्टमा निरन्तर रहँदा अन्तर्राष्ट्रिय वित्तीय कारोबार, वैदेशिक लगानी, बैंकिङ सम्बन्ध तथा नेपालको वित्तीय क्षेत्रको विश्वसनीयतामा असर पर्न सक्ने जोखिम रहन्छ। त्यसैले नेपालले एफएटीएफका सुझाव कार्यान्वयन गर्दै आगामी मूल्यांकनमा सूचीबाट बाहिरिने लक्ष्यसहित सुधार प्रक्रिया तीव्र बनाउनुपर्ने आवश्यकता देखिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे