
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ देखि शिक्षा क्षेत्रलाई प्रविधिमैत्री बनाउने उद्देश्यसहित १० हजार सामुदायिक विद्यालयमा उच्च गतिको इन्टरनेट सेवा विस्तार गर्ने घोषणा गरेको छ । संघीय संसद्को संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले विद्यालय तहमा प्रविधिमा आधारित शिक्षण प्रणाली विस्तार गरिने बताएका हुन् ।
नीति तथा कार्यक्रममा सामुदायिक विद्यालयहरूमा उच्च गतिको इन्टरनेट सेवा, डिजिटल शैक्षिक सामग्री तथा कृत्रिम बुद्धिमत्तामा आधारित सिकाइ प्रणाली लागू गरिने उल्लेख गरिएको छ । सरकारले शिक्षण प्रणालीलाई आधुनिक र प्रविधिमैत्री बनाउँदै विद्यार्थीको सिकाइलाई प्रभावकारी बनाउने लक्ष्य लिएको जनाएको छ ।
राष्ट्रपति पौडेलले उच्च शिक्षालाई पनि समयसापेक्ष, व्यावहारिक र श्रमबजारमुखी बनाइने बताएका छन् । उनका अनुसार विश्वविद्यालयहरूको प्राज्ञिक तथा शासकीय पुनर्संरचना गर्दै उच्च शिक्षालाई उत्पादन, सीप र रोजगारीसँग जोड्ने नीति अघि सारिएको छ ।
सरकारले शिक्षा क्षेत्रमा प्रविधिको पहुँच विस्तारसँगै गुणस्तरीय शिक्षा, अनुसन्धान तथा नवप्रवर्तनलाई प्रोत्साहन गर्ने योजना पनि सार्वजनिक गरेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे