
काठमाडौँ । युवा तथा खेलकुद मन्त्रालयले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरीमाथिको छानबिनमा सहयोग नगरेको भन्दै नेपाल क्रिकेट संघविरुद्ध आवश्यक कारवाही प्रक्रिया अघि बढाउन राष्ट्रिय खेलकुद परिषद्लाई निर्देशन दिएको छ ।
मन्त्रालयले वैशाख १४ गते परिषद्लाई पत्र पठाउँदै नेपाल क्रिकेट संघसँग अन्तिम पटक स्पष्टीकरण माग गरी आवश्यक कारवाही प्रक्रिया अघि बढाउन निर्देशन दिएको जनाएको छ । उक्त पत्र वैशाख २३ गते परिषद्मा दर्ता भएको जनाइएको छ ।
मन्त्रालयका अनुसार २०८१ मंसिर ७ गते र २०८१ फागुन १२ गते अख्तियारमा परेको उजुरीका विषयमा २०८१ पुस २५ गते सचिवस्तरीय निर्णय तथा २०८२ भदौ ५ गते मन्त्रीस्तरीय निर्णयमार्फत छानबिन समिति गठन गरिएको थियो । समितिलाई अनुसन्धानको जिम्मेवारी दिइए पनि खेलकुद विकास ऐन २०७७ अनुसार आवश्यक अभिलेख तथा कागजात उपलब्ध गराउने कानुनी दायित्व नेपाल क्रिकेट संघले पूरा नगरेको पत्रमा उल्लेख गरिएको छ ।
खेलकुद विकास ऐन २०७७ को दफा २८ को खण्ड (च) र (ड) अनुसार मन्त्रालय तथा परिषद्लाई आवश्यक श्रेस्ता र अभिलेख उपलब्ध गराउनुपर्ने व्यवस्था रहे पनि त्यसको पालना नभएको मन्त्रालयको निष्कर्ष रहेको छ ।
मन्त्रीस्तरीय निर्णयअनुसार परिषद्लाई नेपाल क्रिकेट संघसँग अन्तिम पटक चेतावनीसहित स्पष्टीकरण माग्न तथा कारवाही र निलम्बन किन नगर्ने भन्ने विषयमा जवाफ लिन निर्देशन दिइएको जनाइएको छ ।
मन्त्रालयले खेलकुद विकास ऐन २०७७ को दफा २९ अनुसार नेपाल क्रिकेट संघमाथि कारवाही तथा निलम्बनसम्मको प्रक्रिया अघि बढाउन सकिने उल्लेख गरेको छ । आवश्यक कागजात र सन्तोषजनक जवाफ प्राप्त नभए कानुनअनुसार थप कारवाही गरिने चेतावनीसमेत दिइएको छ ।
यस विषयमा स्पष्ट जवाफ नआएमा कारवाही प्रक्रिया अघि बढाउन मन्त्रालयले परिषद्लाई औपचारिक निर्देशन दिएको जनाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे