
काठमाडौँ। विश्वभर छरिएर रहेका गैरआवासीय नेपालीहरूको साझा संस्था गैरआवासीय नेपाली संघको १२औँ बृहत् एकताको अन्तर्राष्ट्रिय महाधिवेशनका लागि नयाँ नेतृत्व चयन प्रक्रिया सुरु भएको छ। महाधिवेशनअन्तर्गत अध्यक्ष पदका लागि तीन जनाले उम्मेदवारी दर्ता गराएका छन्।
बालुवाटारस्थित निर्वाचन समितिका अनुसार अध्यक्ष पदका लागि रोविनप्रसाद शेरचन (जापान), डा. हेमराज शर्मा (बेलायत) र रविनराज वज्राचार्य (अमेरिका) ले उम्मेदवारी दिएका छन्। महासचिव पदमा भने चिरञ्जीवी खड्का (चेक गणतन्त्र) र रामशरण सिम्खडा (बेलायत) बीच प्रतिस्पर्धा हुने भएको छ।
संघको नेतृत्वका लागि उपाध्यक्ष पदमा ६ स्थानका लागि १० जनाले उम्मेदवारी दिएका छन्। उपाध्यक्षका आकांक्षीहरूमा ददिबल खड्का, दिनेश पोखरेल, जुनु गुरुङ, खगेन्द्र न्यौपाने, महेन्द्र ओली, मनोजकुमार श्रेष्ठ, प्रविन गुरुङ, पूर्णचन्द्र बानियाँ, रोजिना प्रधान राई र रोशन थापा रहेका छन्।
महिला उपाध्यक्ष पदमा भने राधिका गुरुङ (टीका) को मात्र उम्मेदवारी परेको छ। त्यस्तै युवा उपाध्यक्ष पदका लागि भीमसेन थापा, मदनराज पौडेल र ओमान गौचन प्रतिस्पर्धामा छन्।
यसैगरी सचिव पदमा आठ जना, कोषाध्यक्षमा दुई जना र सह–कोषाध्यक्ष पदमा चार जनाले उम्मेदवारी दर्ता गराएका छन्। विभिन्न क्षेत्रीय संयोजक तथा उपसंयोजक पदका लागि पनि मनोनयन दर्ता भएको जनाइएको छ।
गैरआवासीय नेपाली संघको १२औँ बृहत् एकताको अन्तर्राष्ट्रिय महाधिवेशन फागुन ३० गतेदेखि काठमाडौँमा सुरु हुने कार्यक्रम रहेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे