
काठमाडौं। नेपाल राष्ट्र बैंकले वित्तीय कारोबारका क्रममा कागजात नबुझी हस्ताक्षर नगर्न नागरिकलाई सचेत गराएको छ। वित्तीय सचेतना अभिवृद्धि गर्ने उद्देश्यले जारी गरिएको सूचनामार्फत राष्ट्र बैंकले वित्तीय सेवा लिँदा कागजमा उल्लेखित सर्तहरू स्पष्ट रूपमा बुझेर मात्र हस्ताक्षर गर्न आग्रह गरेको हो।
राष्ट्र बैंकका अनुसार कुनै पनि वित्तीय कारोबार गर्दा वित्तीय सेवा प्रदायक संस्था र ग्राहक दुवै पक्ष निश्चित सर्त तथा नियममा आबद्ध हुन्छन्। ती सर्तहरूको पूर्ण पालना गर्नु दुवै पक्षको कानुनी दायित्व भएकाले कागजातमा उल्लेखित विषयवस्तु राम्रोसँग बुझ्नु आवश्यक रहेको जनाइएको छ। सूचनामा भविष्यमा समस्या वा पछुतो हुन नदिन हस्ताक्षर गर्नुअघि कागजमा लेखिएका सर्तहरू नबुझेसम्म प्रश्न सोधेर स्पष्ट हुनुपर्ने उल्लेख गरिएको छ।
राष्ट्र बैंकले वित्तीय सेवा प्रयोग गर्ने ग्राहकले सेवा लिनुअघि कागजात ध्यानपूर्वक पढ्ने र त्यसमा रहेका सर्तहरूको अर्थ बुझ्ने बानी बसाल्नुपर्ने सुझाव दिएको छ। कुनै विषय अस्पष्ट भएमा सम्बन्धित संस्थासँग सोधेर स्पष्ट हुनुपर्ने र हस्ताक्षर गरिएका कागजातको एक प्रति आफूसँग सुरक्षित राख्नुपर्ने पनि राष्ट्र बैंकले जनाएको छ।
सूचनामा ग्राहकसँग सर्तबारे प्रश्न सोध्ने तथा जानकारी माग्ने अधिकार रहेको उल्लेख गरिएको छ। त्यस्तै ग्राहकलाई आवश्यक जानकारी स्पष्ट रूपमा उपलब्ध गराउने जिम्मेवारी वित्तीय सेवा प्रदायक संस्थाको हुने बताइएको छ।
यसैगरी राष्ट्र बैंकले वित्तीय सेवा प्रदायकलाई आवश्यक पर्ने कारोबारसम्बन्धी सूचना तथा विवरण उपलब्ध गराउनु ग्राहकको दायित्व भएको पनि स्पष्ट पारेको छ। ग्राहकले सोधेका प्रश्नको सही, सरल र स्पष्ट जवाफ दिनु, साथै कारोबारसम्बन्धी आवश्यक कागजात तथा जानकारी उपलब्ध गराउनु वित्तीय सेवा प्रदायकको प्रमुख जिम्मेवारी हुने राष्ट्र बैंकले जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे