
काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा विजयी भएका सबै उम्मेदवारलाई बधाई दिएका छन्।
शर्माले एक भिडियो सन्देश जारी गर्दै रुकुम पश्चिमबाट नेकपाको तर्फबाट विजयी भएका गोपाल शर्मालाई विशेष रूपमा बधाई दिएका हुन्। उनले निर्धारित समयमा शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गर्न सफल भएको भन्दै सरकार र सुरक्षा निकायलाई पनि धन्यवाद तथा बधाई दिएका छन्।
सन्देशमा उनले आफू रुकुम पश्चिमबाट चुनावमा पराजित भए पनि रुकुमेली जनताको आशा र अपेक्षा पूरा गर्न निरन्तर काम गर्ने बताएका छन्। उनले निर्माणाधीन परियोजनाहरू छिटो सम्पन्न गराउने, गरिबी, बेरोजगारी र विभेदमुक्त रुकुम निर्माण गर्ने तथा सुशासनयुक्त समाज बनाउने लक्ष्यमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
शर्माले रुकुमका सबै राजनीतिक दललाई एकजुट भएर ‘रुकुम एकीकृत विकास योजना’को दोस्रो चरण सफल बनाउन आग्रह गरेका छन्। सामाजिक न्याय र समानतायुक्त समृद्ध रुकुम निर्माणका लागि सबैले मिलेर काम गर्नुपर्ने उनको भनाइ छ।
यसैबीच उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहलाई दुई तिहाइ बहुमत प्राप्त गरेकोमा बधाई दिएका छन्। देश विकास गर्ने जिम्मेवारी अब रास्वपाको काँधमा आएको भन्दै उनले राष्ट्रको हितमा हुने काममा आफूले समर्थन गर्ने प्रतिबद्धता जनाएका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे