
काठमाडौँ । निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन अवघिभित्र मतदानको मितिभन्दा सात दिनअघि देखि अन्तिम नतिजा नआउँदासम्म मादक पदार्थको बिक्री, वितरण र सेवनमा पनि रोक लगाइएको छ। रक्सी खाएर हुलदंगा गर्ने वा मतदातालाई प्रभावित पार्ने काम रोक्न यस्तो निर्णय गरिएको आयोगले जनाएको छ। आयोगले सबैलाई नियम पालना गरी निष्पक्ष निर्वाचन सफल बनाउन सहयोग गर्न आग्रह गरेको छ। व्यवस्थित र शान्तिपूर्ण बनाउन केही महत्वपूर्ण निर्णय गरेको छ। आयोगका अनुसार फागुन १८ गते राति १२ बजेदेखि चुनावी प्रचार–प्रसार पूर्ण रूपमा बन्द हुनेछ। त्यसपछि कुनै पनि प्रकारको सभा, जुलुस, नाराबाजी, पोस्टर टाँस्ने वा सामाजिक सञ्जालमार्फत प्रचार गर्न पाइने छैन।
यो निर्णय कडाइका साथ लागू गराउन गृह मन्त्रालय मार्फत सबै जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायलाई निर्देशन दिइएको छ। जिल्ला स्तरका आचारसंहिता अनुगमन समितिले नियम उल्लङ्घन हुने गतिविधि रोक्नेछन्। यदि कसैले नियम मिचेको पाइएमा तत्काल कानुनअनुसार कारबाही गरिने र आयोगलाई जानकारी गराइने छ। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले यसबारे जानकारी दिएका हुन्।
यसैगरी, मतदानको दिन सुरक्षालाई ध्यानमा राख्दै फागुन २० गते राति १२ बजेदेखि फागुन २१ गते साँझ मतदान नसकिँदासम्म अत्यावश्यक सेवाबाहेक अन्य सबै सार्वजनिक र निजी सवारीसाधन चलाउन नपाइने निर्णय गरिएको छ। एम्बुलेन्स, दमकल, शववाहन, रक्तसञ्चार सेवा, सुरक्षा निकाय, विद्युत्, खानेपानी, ढल र दूरसञ्चार मर्मतका सवारी भने चल्न पाउने छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे