
काठमाडौँ । उत्तर कोरियाको सत्तारुढ वर्कर्स पार्टीले फेरि पनि किम जोङ उनलाई महासचिव चयन गरेको छ। यो निर्णय आइतबार भएको पार्टी कंग्रेसमार्फत सार्वजनिक गरिएको हो, जसलाई राज्य सञ्चालित केसीएनएले पुष्टि गरेको छ। किम परिवारले सन् १९४० को दशकदेखि देशमा शासन गर्दै आएकोले यो निर्णयलाई धेरैले स्वाभाविक मानेका छन्।
राज्य मिडियाका अनुसार किमको नेतृत्वमा उत्तर कोरियाले आफ्नो सुरक्षालाई बलियो बनाउँदै आणविक शक्तिलाई मुख्य आधार बनाएको छ। अन्तर्राष्ट्रिय प्रतिबन्धहरू लागु भए पनि देशले आणविक हतियार र लामो दूरीका क्षेप्यास्त्र विकास र परीक्षणलाई निरन्तरता दिइरहेको छ। यद्यपि शासनको गोपनीयताका कारण सैन्य प्रगति कति भएको छ भन्ने यकिन गर्न गाह्रो छ।
किमले सन् २०११ मा आफ्ना बुबाको निधनपछि सत्ता सम्हालेका हुन्। त्यसयता उनले आणविक कार्यक्रमलाई प्राथमिकता दिएका छन्, जसका कारण विशेषगरी संयुक्त राज्य अमेरिकासँग तनाव बढ्दै आएको छ। कंग्रेसको क्रममा किमले हतियार कार्यक्रमको नयाँ चरण घोषणा गर्न सक्ने अनुमान गरिएको छ।
फेब्रुअरी १९ देखि सुरु भएको यो कंग्रेसमा करिब ५ हजार पार्टी सदस्य सहभागी छन्। यसलाई देशको सबैभन्दा महत्वपूर्ण राजनीतिक कार्यक्रम मानिन्छ, जसले भविष्यको नीति र प्राथमिकता देखाउने गर्दछ। किमले उद्घाटन भाषणमा अर्थतन्त्र सुधार्ने र जनताको जीवनस्तर उकास्ने प्रतिबद्धता व्यक्त गरेका छन्। साथै, कंग्रेसमा किमकी छोरी जु ए देखिन्छिन् कि देखिँदैनन् भन्ने विषयमा पनि धेरैको चासो छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे