
काठमाडौँ । नेकपा एमालेले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। बिहीबार राजधानीमा आयोजित कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ लाई पार्टीको मुख्य लक्ष्य बनाएर घोषणापत्र सार्वजनिक गरे। एमालेले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै “एमालेले बनाउँछ” भन्ने नारासहित आफ्नो संकल्प पेश गरेको छ।
अध्यक्ष ओलीले देशको भूमि, स्वाधीन लोकतन्त्र, संविधान, स्वाभिमान, शान्ति र सुव्यवस्था सबैभन्दा माथि रहेको बताए। उनले भने, “हाम्रो प्राथमिकतामा देश पहिलो हो। हामी उत्तेजना र द्वन्द्वको राजनीतिबाट टाढा छौं। त्रासमा बाँचेको समाजलाई शान्ति र सुव्यवस्थातर्फ फर्काउने हाम्रो प्रतिबद्धता छ।”
उहाँले देश निर्माणका लागि युवाको ऊर्जा आवश्यक भए पनि अनुभवी पुस्ताको बुद्धि, संयम र मार्गदर्शन पनि जरुरी भएको बताए। उनले युवालाई ‘आगो’ र अनुभवलाई ‘उज्यालो’ भन्दै आगोलाई दिशा र उज्यालोलाई ऊर्जा आवश्यक रहेको उदाहरण दिए। यस संयोजनबाट मात्र देशको भविष्य उज्ज्वल बन्न सक्ने उनको भनाइ थियो।
अध्यक्ष ओलीले आगामी निर्वाचनलाई पुस्तान्तरणको नभई देश निर्माण र भत्काउनेबीचको जनमतको रूपमा चित्रित गर्दै यो राष्ट्रघात र स्वाभिमानबीचको संघर्ष भएको दाबी गरे। उनले राजनीति सबै पुस्तालाई जोड्ने माध्यम भएकाले समाजको प्रत्येक वर्गसँग सहकार्य गर्दै समृद्ध नेपाल निर्माण गर्न एमाले कटिबद्ध रहेको बताए।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे