
काठमाडौँ । सर्लाहीको बाँके–सङ्ग्रामपुर सडकखण्डमा पर्ने खीला गाउँ नजिक बुधबार राति तीनवटा मोटरसाइकल आपसमा ठोक्किँदा दुई युवकको ज्यान गएको छ । दुर्घटना ईश्वरपुर नगरपालिका–१३ र हरिपुर्वा नगरपालिकाको सीमाक्षेत्रमा भएको हो ।
दुर्घटनामा हरिपुर्वा नगरपालिका–९ मिर्चैयाका ३० वर्षीय मुकेश राय र ३० वर्षीय रामज्ञान रायको मृत्यु भएको प्रहरीले जनाएको छ । राति करिब ८ बजे भारतीय नम्बर प्लेटका तीन मोटरसाइकल—बीआर ३० एआर ३४५८, बीआर ३० एपी ३८०९ र एचपी ५५ सी ०६२३—ठोक्किएका थिए ।
घटनापछि गम्भीर घाइते अवस्थामा फेला परेका दुवैलाई प्रहरीले उद्धार गरी उपचारका लागि मोडेल अस्पताल लालबन्दी लगेको थियो । उपचारकै क्रममा उनीहरूको मृत्यु भएको हो । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे