परराष्ट्र मन्त्रालयले जनाएको अनुसार, भ्रमणका क्रममा आजै नेपाल–भारत परराष्ट्र सचिवस्तरीय वार्ता हुने भएको छ। उक्त छलफलमा दुवै पक्षबीच कनेक्टिभिटी विस्तार, विकास सहयोग, व्यापार तथा लगानी, ऊर्जा सहकार्य लगायत आपसी हितका अन्य महत्वपूर्ण विषयवस्तुमा केन्द्रित रहनेछ।
विदेशसचिव मिस्रीले भ्रमण अवधिमा नेपालका उच्च पदस्थ व्यक्तित्वहरूसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको मन्त्रालयले स्पष्ट पारेको छ। यस क्रममा उनले प्रधानमन्त्री, परराष्ट्र मन्त्री लगायतका नेताहरूसँग समेत औपचारिक भेटघाट गर्ने तयारी रहेको छ।
नेपाल र भारतबीच लामो समयदेखि मैत्रीपूर्ण सम्बन्ध रहँदै आएको छ। पछिल्ला वर्षहरूमा उच्चस्तरीय भ्रमणमार्फत दुवै देशबीचको द्विपक्षीय सम्बन्ध अझ प्रगाढ भएको मन्त्रालयको भनाइ छ। विदेशसचिव मिस्रीको यसपटकको भ्रमणले दुवै देशबीचको परस्पर सहयोग, विश्वास र साझेदारीलाई थप सुदृढ पार्ने अपेक्षा गरिएको छ।
मन्त्रालयका अनुसार, भ्रमण सम्पन्न गरी मिस्रीले भोलि भदौ २ गते काठमाडौँबाट प्रस्थान गर्ने कार्यक्रम तय गरिएको छ। नियमित उच्चस्तरीय आदानप्रदानलाई निरन्तरता दिने क्रममा यस भ्रमणलाई नेपाल–भारत सम्बन्धलाई नजिक ल्याउने अर्को अवसरका रूपमा हेरिएको छ।








