
काठमाडौँ, १३ जेठ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले हालैको भिजिट भिसा प्रकरण र मानव तस्करीको विषयमा गम्भीर छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्न माग गरेको छ। प्रतिनिधिसभाको बैठकमा रास्वपा सांसद शिशिर खनालले गृहमन्त्रीसहित सरकारी कर्मचारीहरू अपराधमा संलग्न रहेको भन्दै अनुसन्धान गर्न माग गरे।
खनालका अनुसार म्यानपावर कम्पनी, एयरलाइन्स, कर्मचारीदेखि गृहमन्त्रीको सचिवालयसम्मको संलग्नता देखिएको छ। उनले गृहमन्त्री रमेश लेखकले राजीनामा दिएर अनुसन्धानको बाटो खुला गर्नुपर्ने बताए। गृहमन्त्रीले राजीनामा नदिएसम्म संसद चल्न नदिने चेतावनी पनि उनले दिए।
प्रतिपक्षी सांसद वर्षमान पुनले पनि त्रिभुवन विमानस्थलबाट भिजिट भिसाको नाममा करोडौं असुलेर मानव तस्करी भइरहेको भन्दै चिन्ता व्यक्त गरे। पुनका अनुसार गृहमन्त्रीकै सरुवामा आएका व्यक्ति अध्यागमन प्रमुख छन् र मन्त्रीको सचिवालयसमेत यसमा मुछिएको छ।
अख्तियारले चार जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरे पनि “सानो माछा”लाई मात्र समातिएको भन्दै पुनले “ठूलो माछा”माथि कारबाहीको माग गरे। गृहमन्त्रीको राजीनामा माग गर्दै विपक्षी दलहरूले नाराबाजी गर्दै संसद अवरुद्ध गरेका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे