
काठमाडौं – राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले सरकारले हिन्दु राष्ट्र र राजसंस्थामा विश्वास राख्नेहरूलाई दबाउन खोजेको भन्दै कडा आलोचना गरेका छन्। उनले यदि यस्तो अवस्था यथावत् रह्यो भने सरकारविरुद्ध विद्रोह गर्नुपर्ने समय आउन सक्ने चेतावनी दिएका छन्।
शुक्रबार प्रतिनिधि सभामा बोल्दै लिङदेनले भने, “देशमा भ्रष्टाचार गर्नेलाई सजाय दिनुपर्छ भनेर बोल्ने, सुशासनको माग गर्ने, हिन्दु राष्ट्र र राजसंस्थाको समर्थन गर्नेहरूलाई पक्राउ गरेर दुःख दिइएको छ। यस्तो व्यवहार गर्ने हो भने सरकार आफैंले भनिदियोस्, हामी विद्रोहमा जान तयार छौं, जङ्गल जान पनि पछि हट्दैनौं।”
उनले राप्रपा लगायत धेरै मानिसहरू संघीयता र वर्तमान शासन प्रणालीलाई स्वीकार नगर्ने विचार राख्ने अधिकार सबैलाई भएको बताए। “आफ्नो सोच राखेको आधारमा पक्राउ गर्ने, हिरासतमा राखेर अपमान गर्ने सरकारको काम गलत हो,” उनले भने।
लिङदेनले यो काम संविधान, मानव अधिकार र नागरिक स्वतन्त्रता विरुद्ध भएको भन्दै सरकारको कडा शब्दमा आलोचना गरे। “यस्ता गतिविधि सहन सकिँदैन, सरकारको यस्तो रवैयाको म घोर निन्दा गर्छु,” उनले जोड दिए।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे