
भक्तपुर । भक्तपुर क्यान्सर अस्पतालमा बाल क्यान्सर उपचारलाई थप प्रभावकारी बनाउँदै बाल चिकित्सा सघन एकाइ (Pediatric Intensive Care Unit – PICU) स्थापना गरिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले एक कार्यक्रमबीच उक्त एकाइको औपचारिक उद्घाटन गरेका हुन्।
उद्घाटन समारोहमा मन्त्री पौडेलले बाल क्यान्सर उपचारका क्षेत्रमा यो एक महत्वपूर्ण पाइला भएको बताउँदै, “बाल क्यान्सर उपचार निःशुल्क कार्यान्वयन गर्ने निर्णयअनुसार यो सघन एकाइ स्थापना गरिएको हो,” भने। उनले भक्तपुर क्यान्सर अस्पताललाई उपचारको नमुना केन्द्रको रूपमा विकास गर्ने योजना रहेको जानकारी दिए।
उनको भनाइमा अनुसार, उपचारका लागि विदेश जाने अभिभावकहरूको संख्या घटाउने सरकारको लक्ष्य छ। “बाल क्यान्सर उपचार निःशुल्क गर्दा राज्यलाई आर्थिक भार नपर्ने गरी आन्तरिक स्रोतबाटै आवश्यक व्यवस्थापन गरिएको छ,” मन्त्री पौडेलले उल्लेख गरे।
उनले स्वदेशमै स्तरीय स्वास्थ्य सेवाको पहुँच वृद्धि गर्दै क्यान्सर नियन्त्रणमा नागरिक सतर्कता र नियमित परीक्षणलाई प्राथमिकता दिने प्रतिवद्धता समेत जनाए।
अस्पतालका निमित्त कार्यकारी निर्देशक डा. उज्वल चालिसेका अनुसार नयाँ स्थापना गरिएको एकाइमा बालबालिकाका लागि चार शय्याको डे केयर र सात शय्याको साधारण उपचार कक्ष व्यवस्था गरिएको छ।
यस पहलले बाल क्यान्सर उपचारमा नयाँ सम्भावना र आशा ल्याउने विश्वास गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे