
काठमाडौँ — नेपाल शैक्षिक परामर्श संघ (ECAN) ले दक्षिण कोरियास्थित नेपाली दूतावासले परराष्ट्र मन्त्रालयमा पठाएको पत्रप्रति गम्भीर आपत्ति जनाएको छ। सो पत्रका आधारमा परराष्ट्र मन्त्रालयमार्फत शिक्षा मन्त्रालयमा पठाइएको अर्को पत्रमा शैक्षिक परामर्श व्यवसायमाथि गरिएको टिप्पणीलाई ECAN ले एकपक्षीय, आधारहीन र पूर्वाग्रही भनेको छ।
२०७८ वैशाख १७ गतेको मितिमा दूतावासबाट पठाइएको पत्र र त्यसको सन्दर्भमा १९ गते शिक्षा मन्त्रालयमा लेखिएको पत्रमा कोरियन D2 र D4 भिसा प्रक्रियामा देखिएको चुनौतीलाई लिएर नेपाली परामर्श संस्थाहरूलाई “झुटा आश्वासन दिने”, “ब्रेनवास गर्ने”, “घुलमिल हुन नसक्ने विद्यार्थी पठाउने”, “ब्ल्याकमेल गर्ने” लगायत गम्भीर आरोप लगाइएको विषयमा संघले आपत्ति जनाएको हो।
ECAN ले विज्ञप्तिमार्फत यस्ता टिप्पणीहरू कूटनीतिक मर्यादा र सरकारी पत्राचारको व्यवहारिक सीमाभन्दा बाहिर रहेको उल्लेख गरेको छ। यसले समग्र शैक्षिक परामर्श व्यवसायको मर्यादा, विश्वसनीयता र प्रतिष्ठामा आँच पुर्याएको भन्दै संघले गहिरो चिन्ता व्यक्त गरेको छ।
संघले उल्लेख गरेअनुसार, नेपालका परामर्श संस्थाहरू विगत तीन दशकदेखि सरकारी मान्यता प्राप्त संरचना, आचारसंहिता र नीतिगत दिशानिर्देशअनुसार काम गरिरहेका छन्। विश्वभरका ख्यातिप्राप्त शिक्षण संस्थाहरूसँग समन्वय गर्दै उनीहरूले नेपाली विद्यार्थीलाई गुणस्तरीय, पारदर्शी र सुरक्षित सेवा प्रदान गर्दै आएका छन्।
दक्षिण कोरियालाई एक प्रमुख शैक्षिक गन्तव्यका रूपमा विकास गरिने क्रममा उत्पन्न व्यवस्थापकीय वा प्राविधिक समस्या समाधान संवाद, समन्वय र प्रभावकारी नियमनबाट खोजिनुपर्नेमा ECANले जोड दिएको छ।
संघले स्पष्ट पारेको छ कि यदि कुनै व्यक्ति वा संस्था दोषी छन् भने उनीहरूलाई प्रचलित कानुन अनुसार कारबाही हुनुपर्छ र यस्तो कारबाहीमा संघ पूर्ण रूपमा सहयोग गर्न तयार छ। तर, केही अपवादका आधारमा सम्पूर्ण व्यवसायलाई अपराधसँग जोड्ने प्रयास अनुचित, गैरजिम्मेवार र विद्यार्थीको शैक्षिक अधिकारमाथिको हस्तक्षेप हुने संघको भनाइ छ।
यसै सन्दर्भमा, ECAN ले शिक्षा मन्त्रालयसँग नेगेटिभ सन्देश प्रवाह रोक्न, NOC (No Objection Certificate) को निरन्तरता सुनिश्चित गर्न र समन्वयको माध्यमबाट दीर्घकालीन समाधान खोज्न विशेष अनुरोध गरेको छ।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे