
काठमाडौँ — भारत र पाकिस्तानबीच बढ्दो तनावलाई मध्यनजर गर्दै केन्द्रीय सुरक्षा समितिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र स्थल सीमा नाकामा सुरक्षा निगरानी कडा पार्ने निर्णय गरेको छ। गृह मन्त्रालयमा बसेको बैठकले सम्भावित असरको मूल्यांकन गर्दै सीमा तथा विमानस्थलमा थप सुरक्षा व्यवस्थाको तयारी गर्न निर्देशन दिएको हो। बैठकमा भारत र पाकिस्तानमा रहेका नेपालीहरूको सुरक्षाबारे छलफल गर्दै कूटनीतिक माध्यमबाट जानकारी लिने निर्णय गरिएको छ। गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा भएको बैठकमा सेना, प्रहरी, सशस्त्र प्रहरी, अनुसन्धान विभागका उच्च अधिकारीहरू सहभागी थिए।
गृहमन्त्रीको निर्देशनअनुसार सीमामा आवश्यक सर्कुलर जारी भइसकेको सुरक्षा अधिकारीले बताए। यसअघि नै सशस्त्र प्रहरी बलले सीमा क्षेत्रमा उच्च सतर्कता अपनाइसकेको छ। सहायक प्रवक्ता शैलेन्द्र थापाले भारतीय समकक्ष सशस्त्र सीमा बल (SSB) सँगको सहकार्यमा संयुक्त गस्ती र सूचनाको आदानप्रदानलाई तीव्रता दिएको जानकारी दिए। अवैध घुसपैठ रोक्न कडाइ गरिने भएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे