
काठमाडौँ, २३ वैशाख । सुर्खेत जिल्लाको भेरीगंगा नगरपालिका–१२, झिंगेनारा खोलामा आइतबार बिहान फेला परेको महिला शवको रहस्य केही घण्टामै खुलेको छ। मृतक २६ वर्षीया महिला प्रेमा वलीको हत्या उनका आफ्नै श्रीमान् २९ वर्षीय दर्शन खत्रीले गरेका हुन् भन्ने खुलेको हो।
जिल्ला प्रहरी कार्यालय सुर्खेतले दिएको जानकारीअनुसार, हत्या अभियोगमा पक्राउ परेका दर्शन खत्री नेपाली सेनाका जवान हुन्, जो हाल काभ्रेस्थित वीरदल गणमा कार्यरत छन्। आइतबार बिहान १० बजेतिर स्थानीयवासीहरूले थाकलको खजुरी टिप्न जंगल गएका बेला खोल्सामा एक महिलाको शव देखेपछि छिन्चु प्रहरीलाई खबर गरेका थिए। शव पानीमा घोप्टो परेको अवस्थामा झिंगेनारा खोलामा फेला परेको थियो। शव भेटिएको खबरपछि घटनास्थलमा तत्कालै प्रहरी टोली पुगेको थियो। अनुसन्धान थप गहिरो बनाउन नेपालगन्जबाट प्रहरीको कुकुरसहितको केनाइन शाखा समेत बोलाइएको थियो।
घटनास्थलमा बेलुकासम्म पुगेका मृतकका आफन्तहरूले शवको पहिचान गरे। मृतकको पहिचान गुर्भाकोट नगरपालिका–५ की प्रेमा वलीका रूपमा गरिएको हो। अनुसन्धानकै क्रममा प्रहरीले मृतकका श्रीमान् दर्शन खत्रीलाई नियन्त्रणमा लिएको थियो।
पक्राउ परेका खत्रीले प्रारम्भिक अनुसन्धानमै आफैंले श्रीमतीको हत्या गरेको स्वीकार गरेको प्रहरी स्रोतले जनाएको छ। दर्शन र प्रेमाबीच ७ वर्षअघि प्रेम विवाह भएको थियो। विवाहपश्चात दर्शनले नेपाली सेनामा सेवा सुरु गरेका थिए। पछिल्लो समय दर्शन अर्की महिलासँग सम्बन्धमा रहेको शंका प्रेमाले गरेको र त्यो विषय माइतीसम्म पुगेपछि सम्बन्ध झनै बिग्रिएको प्रहरीले जनाएको छ।
दुवैबीच बढ्दो शंका र विवादकै कारण शनिबार वादविवाद चर्किएको थियो। अनुसन्धानका क्रममा दर्शनले श्रीमतीको टाउकोमा ढुङ्गाले प्रहार गरेको र त्यसपछि सलले घाँटी कसेर हत्या गरेको स्वीकारेका छन्। हत्या गरेपछि शवलाई पानीको खाल्डोमा फालेको बयान उनले प्रहरीसमक्ष दिएका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे