
काठमाडौँ। काठमाडौँ महानगरपालिकाले शैक्षिक सत्र २०८२ का लागि छात्रवृत्ति विवरण अनिवार्य रूपमा पेस गर्न सबै विद्यालयलाई निर्देशन दिएको छ। महानगरले Scholarship Entry System निर्माण गरी विवरण संकलनको प्रक्रिया सुरु गरेको जनाएको छ।
विद्यालयहरूले सम्बन्धित युजरनेम र पासवर्ड प्रयोग गरी २०८२ साल जेठ १ गतेभित्र छात्रवृत्तिसम्बन्धी सम्पूर्ण विवरण अनिवार्य रूपमा पेस गर्नुपर्नेछ। विवरण हाल्नका लागि लिङ्क, युजरनेम तथा पासवर्ड विद्यालयहरूलाई इमेल र एसएमएसमार्फत पठाइसकिएको छ।
यदि विवरण समयमै पेस नगरेमा शिक्षा ऐन, २०७५ को दफा ५६ र ५७ बमोजिम विद्यालयलाई दिइएको अनुमति वा स्वीकृति खारेज गरिने वा अन्य कानुनी कारबाही अघि बढाइने महानगरले चेतावनी दिएको छ।
महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को परिच्छेद १० अनुसार छात्रवृत्ति तथा निःशुल्क शिक्षाका लागि स्पष्ट व्यवस्था गरिएको छ।
शैक्षिक सत्र २०८० मा कक्षा १० सम्मका ४६५ विद्यालयबाट १३,००० भन्दा बढी विद्यार्थीहरू र सत्र २०८१ मा १९,००० भन्दा बढी विद्यार्थीहरूले विभिन्न छात्रवृत्ति प्राप्त गरिसकेका छन्।
यस वर्ष पनि अघिल्ला सत्रहरूको निरन्तरतास्वरूप छात्रवृत्ति वितरणलाई व्यवस्थित र पारदर्शी बनाउन Entry System को प्रयोग गरिनेछ।
काठमाडौँ महानगरपालिकाअन्तर्गत सञ्चालित संस्थागत विद्यालयहरूले कक्षा १ देखि १० सम्मका विद्यार्थीहरूलाई नियमानुसार छात्रवृत्ति दिनुपर्नेछ। विद्यालयले छात्रवृत्ति प्रदान गर्दा जेहेन्दार, विपन्न, असहाय, अपाङ्ग, महिला, दलित, जनजाति, हिंसा पीडित तथा शहीद परिवारका विद्यार्थीहरूलाई समावेशी आधारमा समावेश गर्नु पर्ने प्रावधान छ।
विद्यालयमा भर्ना भएका कुल विद्यार्थीको कम्तीमा १० प्रतिशत संख्यामा छात्रवृत्ति वितरण गर्नुपर्ने व्यवस्था छ। छात्रवृत्ति वितरण प्रक्रिया अघि बढाउनका लागि विद्यालयले सूचना पाटीमा सूचना टाँस गरी सम्बन्धित विद्यार्थी तथा अभिभावकबाट आवेदन सङ्कलन गरी २०८२ साल जेठको पहिलो हप्ता भित्र वितरण प्रक्रिया सम्पन्न गर्नुपर्नेछ।
छात्रवृत्तिको वितरण भने काठमाडौँ महानगरपालिका शिक्षा ऐन, २०७५ को दफा ५० को उपदफा (३) बमोजिम गठित छात्रवृत्ति छनोट समितिको निर्णय अनुसार मात्र वैध ठहर्नेछ। समितिले छनोट गरेको नामावलीबाहेक अन्य वितरण अमान्य हुनेछ र कानुनबमोजिम कारबाही हुनेछ।
सवै विवरण संकलन भएपछि छात्रवृत्तिको सूची सार्वजनिक गरिने महानगरले जनाएको छ।
काठमाडौँ महानगरपालिकाले स्मरण गराएको छ कि – “कानुन निर्माणको सार्थकता त्यसको प्रभावकारी कार्यान्वयनमा निहित हुन्छ। यही कार्यान्वयनमार्फत हजारौँ विद्यार्थी छात्रवृत्तिबाट लाभान्वित हुँदै आएका छन्, र यस प्रक्रियामा हामी पूर्ण रूपले गम्भीर छौँ।”
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे